हर्कले संसदमा पहिलो सम्बोधनमै उठाए गोर्खा मुद्धा



काठमाडौ – राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित सांसद हर्क साम्पाङले भूतपूर्व गोर्खाहरुको मुद्धा सुल्झाउन नेपाल सरकारको ध्यानकर्षण गरेका छन्।
बिहीवार शुरु भएको नवनिर्वाचित संसदको अधिवेशनअन्तर्गतको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले गोर्खाहरुको समान पेन्सनका लागि पहल गर्नुपर्नेमा जोड दिएका हुन्।
नेपाल सरकारले गरेको सन्धिमार्फत बेलायत गएका गोर्खाहरुको नेपाली नागरिकता कायम राखेर उनीहरुलाई नागरिकको दर्जामा राख्ने नीति नेपाल सरकारले लिनु पर्ने उनको धारणा थियो ।
भूतपूर्व गोर्खा सम्बन्धि मुद्दा अहिले नेपाल र बेलायत दुवै देशमा पुनः वहसमा आएको छ ।
गत सातामात्र डेढ दर्जन बढी बेलायती सांसदहरुले संसदमा गोर्खाहरुलाई भेदभाव नगरि सम्मानजनक रुपमा सेवा सुविधा दिन बेलायत सरकारलाई आग्रह गरेका थिए । बेलायतमै नेपाल र बेलायत सरकार एवं भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीच त्रिपक्षीय वार्ता जारी छ ।
उता, नेपालको सर्वोच्च अदालतले समेत नेपाल सरकारलाई यस मुद्दा छिनोफानो गर्न सशक्त पहलका लागि निर्देशनात्मक आदेश जारी गरिसकेको छ ।


