शनिबार, ७ मार्च, २०२६
10:07 | १५:५२

ऐतिहासिक नाटक ‘मिलारेपा’ लिएर बेलायत आए निर्देशक बुद्धि तामाङ

नेपाली लिङ्क मार्च ७, २०२६

लन्डन । ऐतिहासिक नाटक ‘मिलारेपा’ का निर्देशक बुद्धि तामाङ्ग लन्डन आइपुगेका छन् । उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले च्यारिटी सहयोगार्थ प्रस्तुत गर्न लागेको ऐतिहासिक नाटक ‘मिलारेपा’ को विशेष प्रदर्शनका क्रममा शुक्रबार साँझ लण्डन आइपुगेका हुन् ।

उनीसंगै सो नाटक प्रर्दशनका संयोजक धर्म गुरु कोशिष वाइबा समेत आएका छन् । उनीहरुको स्वागतार्थ बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष क्याप्टेन देव घले, आमा प्रमुख शारदा गुरुङ हिथ्रो एयरपोर्ट पुगेका थिए । उक्त नाटक आउँदो आइतबार ८ मार्चका दिन साँझ ६ बजे अल्डरसटस्थित प्रिन्सेस हलमा प्रदर्शन गर्न लागिएको हो ।
मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित ऐतिहासिक नाटक ‘मिलारेपा’ पहिलो पटक बेलायतमा प्रदर्शन गर्न लागिएको हो ।

उक्त नाटक चाङ ङोन हेरुकको लेखन, बुद्धि तामाङ र उमेश तामाङको निर्देशन छ । त्यस्तै, रुपेश लामा, रमिला मोक्तान, विकास लामालगायत कलाकारहरूको जोडदार अभिनयलाई अत्याधुनिक क्यामेरा तथा प्रविधिको सहयोगमा छायांकन गरी उक्त दिन प्रिन्सेस हलको स्क्रिनमा प्रस्तुत गर्न लागिएको कार्यक्रम संयोजक एवं बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देव घलेले जानकारी दिए ।

उक्त नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ । कालो तान्त्रिक साधनामा संलग्न एक भड्किएको युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु छ । यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ ।

उक्त नाटकका लागि बीसीसी यूकेको अल्डरसटस्थित गुम्बा वा अनलाइनमार्फत अग्रिम रुपमा खरिद गर्न सकिने बताएको छ । त्यस्तै, सोही साँझ प्रवेशद्धारमा समेत किन्न सकिने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू