गायक तथा अभिनेता प्रशान्त तामाङको निधन



गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ।
ह्रदयघात भएपछि नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो।
अरुणाचल प्रदेशमा कार्यक्रम सकेर राजधानी फर्किएलगत्तै उनको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
निधनअघि उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या वा असहजता देखिएको थिएन। ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङले साधारण पृष्ठभूमिबाट राष्ट्रिय स्तरको ख्याति हासिल गरेका थिए।
सानै उमेरमा पिता गुमाएपछि परिवारको जिम्मेवारी सम्हाल्न उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका थिए र प्रहरी ब्याण्ड (अर्केस्ट्रा) मा गीत गाउँथे।
सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा अडिसन दिएपछि उनको जीवनले नयाँ मोड लियो। अन्ततः प्रतियोगिता जित्दै उनले भारतभरि तथा विदेशमा रहेका लाखौं दर्शक–श्रोताको मन जिते।
इन्डियन आइडलमा उनको यात्रा सजिलो थिएन। साधारण पहिरन, सादा स्वभाव र भावनात्मक गायन शैलीका कारण उनी छिट्टै दर्शकको मन जित्न सफल भए । उनको आवाजमा रहेको आत्मीयता, लोकभाव र भावप्रवण प्रस्तुतिले निर्णायक मात्र होइन, करोडौँ दर्शकलाई प्रभावित गर्यो । अन्ततः २००७ मा उनले उपाधि जितेपछि नेपालीभाषी समुदायमा उत्सवको माहोल बन्यो ।
यो जित केवल व्यक्तिगत सफलता मात्र थिएन, नेपाली पहिचान र प्रतिभाको अन्तर्राष्ट्रिय स्वीकारोक्ति पनि थियो। उपाधि जितेपछि प्रशान्त तामाङले हिन्दी, नेपाली तथा अन्य भाषामा गीतहरू गाए। उनले चलचित्रका लागि पनि पार्श्वगायन गरे र विभिन्न सांगीतिक कार्यक्रममार्फत दर्शकसँग निरन्तर जोडिँदै आए। पछिल्लो समय भने उनी गायनमा भन्दा फिल्ममा सक्रिय थिए । गायक तामाङले नेपाली फिल्म ‘परदेशी, गोर्खापल्टन’ लगायतमा काम पनि गरेका छन्।
पछिल्लो समय उनले बलिउड/ओटीटीमा पनि कदम चालेका थिए। अमेजन प्राइमको पाताल लोक सिजन २ (२०२५) मा उनले स्नाइपर ड्यानियल लेचो (भिलेन) को शक्तिशाली भूमिका निर्वाह गरे, जसको प्रशंसा व्यापक रूपमा भएको थियो। प्रशान्तले सन् २०११ मा पूर्व एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए र सन् २०२२ मा छोरी आरियाको जन्मपछि परिवारसँग खुसी जीवन बिताइरहेका थिए।
कोरोनाको बेला आमासँगको वियोग उनको जीवनकै सबैभन्दा ठूलो पछुतो थियो। त्यसबेला उनी दिल्लीमै थिए। कोरोना महाव्याधिपछि सर्वत्र ठप्प थियो। यता दार्जीलिङमा आमा बितिन्, कोरोनाले नै। प्रशान्तले आमालाई अन्तिम अवस्थामा भेट्न पाएनन्। जब कि उनी परिवारका एकमात्र छोरा थिए।
दुर्भाग्यवश, जनवरी ११, २०२६ दिल्लीस्थित आफ्नै निवासमा मात्र ४२ वर्षको उमेरमा उनको असामयिक निधन भयो। उनको यो प्रस्थानले नेपाली भाषी संगीत तथा चलचित्र जगतमा ठूलो शोक उत्पन्न गरेको छ। उनले नेपाली पहिचान र गोर्खा गौरवलाई विश्व मञ्चमा चिनाउन महत्वपूर्ण योगदान दिएका थिए। उनको सम्झना सधैं अमर रहनेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



