नेपाल-बेलायत सम्बन्ध सुदृढ पार्न युवा केन्द्रित क्रिकेट विकासमा छलफल


लन्डन । बेलायतमा नेपाली क्रिकेटको दीर्घकालीन र दिगो विकासलाई केन्द्रमा राखेर युवा केन्द्रित ग्रासरुट क्रिकेट विकासबारे एक महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ। ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) र किडाशाबीच सहकार्य र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले उक्त छलफल गरिएको हो ।
छलफलमा बीजीसीएलका प्रवन्ध निर्देशक ज्ञाम गुरुङले बेलायतबाट नेपाली क्रिकेटलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। नेपाली क्रिकेटलाई पहिचान र गर्वको विषय मान्दै उनले खेलाडी विकास, अवसर सिर्जना र अन्तर्राष्ट्रिय एक्सपोजरका लागि बीजीसीएल नेपालसँग सहकार्य गर्दै अघि बढ्ने बताए।
बेलायतमा नेपाली क्रिकेटको संरचना क्रमशः बलियो बन्दै गएको उल्लेख गर्दै गुरुङले यो अनुभव र स्रोत नेपालसँग साझा गर्न सके नेपाली क्रिकेटले अझ ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, किडाशाका कार्यक्रम संयोजक जेरेमी साउथहनले क्रिकेट खेललाई बालबालिका र युवाहरूको आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता विकास गर्ने प्रभावकारी माध्यमको रूपमा प्रस्तुत गरे। विशेषगरी नेपालका शहरी क्षेत्रमा रहेका प्रतिभावान बालबालिकालाई क्रिकेटमार्फत अवसर प्रदान गर्न किडाशाले सहकार्य गर्न इच्छुक रहेको जानकारी उनले दिए।
कार्यक्रममा सहभागी युवा क्रिकेट प्रवद्र्धक विज्ञान कार्कीले नेपाली क्रिकेटको दीर्घकालीन सफलताका लागि जरा तहबाटै योजनावद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। नेपाल र बेलायतबीच क्रिकेट सहकार्य विस्तार भए नेपाली युवा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्ने महत्त्वपूर्ण अवसर पाउने उनको भनाइ थियो।
छलफलमा विद्यालयस्तरको नेपाली क्रिकेट प्रशिक्षण कार्यक्रम, युवा क्रिकेट विकास परियोजना, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल र दीर्घकालीन क्रिकेट संरचना निर्माणलगायत विषयमा सकारात्मक विचारविमर्श गरिएको थियो।
किडाशा लामो समयदेखि नेपालमा बालबालिका र युवाहरूमाझ खेलकुद, विशेष गरी क्रिकेटको विकासमा सक्रिय छ । यसले बुटवल र पोखरा लगायतका शहरहरूमा क्रिकेट प्रशिक्षण, प्रतिभा पहिचान र युवा विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ।
त्यसैगरी, ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) बेलायतमा स्थापित एक प्रतिष्ठित र प्रतिस्पर्धात्मक क्रिकेट लिग हो, जसले बेलायतमा रहेका नेपाली खेलाडीहरूलाई गुणस्तरीय प्रतियोगितामा सहभागी गराउनुका साथै अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्दै आएको छ।
किडाशा र बीजीसीएल दुवै संस्थाको साझा उद्देश्य नेपाली क्रिकेटको दिगो विकास गर्नु र युवा खेलाडीहरूको भविष्य उज्ज्वल बनाउनु रहेको सहभागीहरूले बताएका छन्। यी दुई संस्थाबीचको सहकार्य र सकारात्मक संवादले नेपाल र बेलायतबीच क्रिकेटमार्फत अझ बलियो सम्बन्ध निर्माण हुने विश्वास गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




