आइतबार, २८ डिसेम्बर, २०२५
01:06 | ०६:५१

रवि बालेन सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन

नेपाली लिङ्क डिसेम्बर २८, २०२५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच बृहद राजनीतिक एकता सम्बन्धी लिखित सहमति भएको छ। सार्वजनिक दस्तावेजमा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन्द्र शाहले हस्ताक्षर रहेका छन्।

दस्तावेजको सबैभन्दा चासोको विषय बनेको बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख छ।

सहमति अनुसार भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै आन्दोलनका क्रममा घाइते भएका तथा शहीद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।

दस्तावेजमा समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य प्राप्त गर्न गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासलाई बलियो बनाउने उल्लेख छ।

यसमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्र इमानदारीपूर्वक कार्यान्वयन गर्ने सहमति गरिएको छ।

सहमति अनुसार बृहद एकतापछि राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने उल्लेख छ।

त्यसैगरी, बृहद एकतापछि पार्टीको संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गरिने, जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने उल्लेख छ।

आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने र पार्टीको सिद्धान्त, नेतृत्व तथा चुनाव चिन्ह घण्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गरिएको छ।

यस सहमतिलाई नेपाली राजनीतिमा नयाँ मोडका रूपमा हेरिएको छ। यद्यपि, यसबारे दुवै पक्षबाट औपचारिक राजनीतिक घोषणा भने अझै सार्वजनिक गरिएको छैन।

सहमति:

सबै नेपालीको समतामूलक उन्नतिका खातिर सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै, २०८२ साल भदौ २३ र २४ गते जन–जी आन्दोलन् लगायत विभिन्न आन्दोलनमा घाइते एवं शहीद भएकाहरूको बलिदानलाई सम्मानपूर्वक स्मरण गर्दै, समान सोच र मूल्य बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र श्री बालेन्द्र शाह (दोश्रो पक्ष) बीच देहायका सहमति भएका छन्।

१. नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै, घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाउने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने।

रवि लामिछाने

बालेन्द्र शाह

पुष १३, २०८२
काठमाडौं

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू