सोमबार, ८ डिसेम्बर, २०२५
15:56 | २१:४१

‘मण्डने’को ‘हाउ टु बिकम द बेस्ट एम्बेसडर’ विमोचन

नेपाली लिङ्क डिसेम्बर ८, २०२५

काठमाडौँ । डा. गोपाल पौड्याल ‘मण्डने’द्वारा लिखित पुस्तक ‘हाउ टु विकम द बेष्ट एम्बासडर’ विमोचन गरिएको छ।

वरिष्ठ लेखक प्रा. डा. तुलसी भट्टराई लगायत विशिष्ट साहित्यकारहरूद्वारा कमलादीस्थित प्रज्ञा भवनको लेखनाथ कक्षमा आयोजित एक समारोहमा पुस्तक लोकार्पण गरिएको हो।

उमाकान्त पौडेल स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. तुलसी भट्टराईले पौड्याललाई बहुआयामिक र बहुप्रतिभाशाली स्रष्टाको रूपमा व्याख्या गर्दै यो पुस्तकले नेपाली कूटनीतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

वरिष्ठ साहित्यकार तथा अनुसन्धानकर्ता, नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेम सिंह बस्न्यातले पौड्यालको व्यक्तित्व र नेपालको राजनीति तथा कूटनीतिबारे प्रकाश पारे।

बेलायतस्थित नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक सुरेशजंग शाहले पौड्यालको साहित्य र समाजसेवाप्रतिको समर्पण उदाहरणीय रहेको उल्लेख गर्दै यो पुस्तक राजदूतहरूलाई प्रशिक्षित गर्न उपयोगी हुने विश्वास व्यक्त गरे।

काठमाडौँ विश्वविद्यालयका डीन प्रा. डा. उद्धव प्याकुरेलले पुस्तकको संक्षिप्त परिचय दिँदै नेपाली डिप्लोमेसीमा यसको महत्त्वमाथि प्रकाश पारे।

अक्षरमार्ग प्रकाशन पनौती काभ्रेले प्रकाशन गरेको यस पुस्तकका प्रकाशक सूर्यप्रसाद लाकोजुले विज्ञ व्यक्तिको पुस्तक प्रकाशन गर्न पाउनु गौरवको विषय भएको बताए।

लेखक ‘मण्डने’ ले आफू कवि भएर पनि यो पुस्तक किन लेखेँ भन्ने विषयमा प्रस्ट पार्दै पुस्तकका मुख्य अध्यायहरूको जानकारी गराए।

कार्यक्रममा प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले स्वागत मन्तव्य दिएका थिए भने सभापति तथा प्रतिष्ठानका अध्यक्ष कश्यप पौडेलले आफ्ना दाजु (लेखक) को प्रेरणाले आफू कथाकार बनेको प्रसङ्ग उल्लेख गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।


कार्यक्रममा फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइटेल, पूर्व सुरक्षाकर्मी परिषदका सचिव, काभ्रेली समाजका पूर्व अध्यक्ष प्रल्हाद केसी लगायत थुप्रै लेखक तथा साहित्यकारहरूको उपस्थिति थियो।

‘मण्डने’को यो पुस्तक अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिबारे चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास लिइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू