मंगलबार, ३ मार्च, २०२६
00:34 | ०६:१९

एनआरएनएमा महेश श्रेष्ठ र डा. बद्री केसी नेतृत्वबीच बृहत् एकता

नेपाली लिङ्क नोभेम्बर ३०, २०२५

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच आइतबार बृहत् एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले एकता सम्बन्धी दश बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

मुलुकमा फेरिएको परिस्थितिपछि विदेशमा रहेका नेपालीहरूको हक हित, र अधिकारको संरक्षण तथा नेपालको समग्र समृद्धिमा योगदान पुरयाउन र विश्वभरिका गैरआवासीय नेपालीहरु एकमत रहेको सन्देश दिने उद्देश्यले बृहत् एकता भएको हो ।

एकतापछि १७ अप्रिल २०२६ सम्म १२ औं महाधिवेशन गर्ने, महाधिवेशनसम्म केसी र श्रेष्ठको संयुक्त नेतृत्व रहने, महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने, त्यस्तो कमिटीमा रहेका व्यक्ति १२औं महाधिवेशनमा उम्मेदवार नहुने, १२ औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिने, दुवै पक्षका आर्थिक व्यवस्थापन पारदर्शी बनाउन स्वतन्त्र तेस्रो पक्षबाट अडिट गरिने, अदालतमा दुवै पक्षका मुद्दामामिला फिर्ता गर्ने, विभिन्न समयमा एनआरएनको नेतृत्व गरेका डा. बद्री केसी, कुल आचार्य, रबिना थापा, विनोद कुँवर र राजेन्द्रकुमार शर्माको अध्यक्षतामा गठित यसअघिका कार्यसमितिहरूलाई पूर्व कार्यसमितिको रूपमा अभिलेखीकरण गर्ने लगायत सहमति भएको छ।

एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री कार्कीले बृहत् एकताका लागि बधाई ज्ञापन गर्दै सबै मनोमालिन्य मेटाएर संघलाई एकसूत्रीय अभियानमा लैजाने क्रममा कोशेढुँगा भएको बताइन् । उनले भनिन्, ‘भाइ फुटे गवार लुटे भन्ने त थाहै छ, त्यसैले मिलेर जाँदा राम्रो सन्देश जान्छ फुटेर कतै पुगिन्न ।’

प्रधानमन्त्री कार्कीले एनआरएनहरूले नेपालप्रति सद्भाव, अपनत्व देखाउँदै रोजगारी सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य क्षेत्र सँगै देशमा उत्पादन र उत्पादकत्व बढाउने गरी लगानी प्रवाह गर्न आग्रह गरिन् ।

सूचना–सञ्चार मन्त्री जगदीश खरेलले एनआरएनलाई गैर–राजनीतिक बन्न आग्रह गर्दै ‘एकता कागजमा मात्र होइन, मन र मस्तिष्कमा पनि कायम होस्’ भन्ने कामना गरे । सञ्चारमन्त्री खरेलले एनआरएनलाई पार्टी भन्दामाथि उठेर जनताको संस्थाको रुपमा स्थापित गराउन पनि सुझाव दिए ।

एनआरएनए अध्यक्ष डा केसीले एनआरएनएबीचको एकताले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सकारात्मक सन्देश दिएको भन्दै नेपालको आर्थिक विकासमा सक्रिय ढङ्गले लाग्ने प्रतिबद्धता जनाए । अध्यक्ष केसीले भने, ‘हामी चार वर्ष अलमलिएका थियौँ, संस्थाभित्र मतान्तर थियो । तर पनि सोच र कार्यशैलीबाट भिन्न थिएनौँ, यो एकताले संस्थालाई बलियो बनाएको छ । यो एकता भनेको अठोट र विश्वासको हो । सम्पूर्ण ८० लाख नेपालीको एकता पनि हो ।’

अध्यक्ष श्रेष्ठले बृहत् एकताको घोषणाले गैरआवासीय नेपालीबीचको भावनात्मक एकता भई समृद्ध नेपाल निर्माणमा सक्रिय भएर जुट्न प्रेरणा मिलेको बताए । उनले भने, ‘लामो समयको बेमेल र असमझदारीलाई यस एकताको सम्झौताले चिर्नेछ । एकतालाई दिगो बनाएर, ज्ञान, सीप र पुँजी नेपाल भित्रयाउन मद्दत पुग्नेछ ।’

एकता घोषणा कार्यक्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरू कुमार पन्त र भवन भट्ट, संस्थापक महासचिव भिम उदासलगायत एनआरएनए पदाधिकारी तथा अभियन्ताहरु सहभागी थिए ।

अब गैरआवासीय नेपाली संघ देश–विदेशमा बस्ने नेपालीहरूका लागि आशा र भरोसाको केन्द्र बन्ने अपेक्षा छ ।

संघले अहिलेसम्म ९० देशमा औपचारिक सञ्जाल विस्तार गरी मातृभूमि र विभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई सहयोग गर्दै आएको छ।

सहमतिका बुँदाहरूः

१) मिति २०२३ अक्टोबर १७–२० मा सम्पन्न एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने। त्यसैगरी संघका पूर्व अध्यक्ष डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा मिति २०२५ मे ३–४ मा आयोजित एकता महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने।

२) गैरआवासीय नेपाली संघको बाह्रौँ महाधिवेशन ढिलोमा सहमति भएको मितिले ६ महिना भित्र सम्पन्न गर्ने। उक्त मितिभित्र बाह्रौँ महाधिवेशन सम्पन्न गर्दा मिति २०२५ मे ३–४ मा आयोजित एकताको महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा बनेको समितिको कार्यकाललाई पनि मध्यनजर गर्दै, उक्त समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिनेछ।

३) यस सहमति अनुसार बाह्रौँ महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्नका लागि आगामी बाह्रौँ महाधिवेशनमा उम्मेदवार नहुने व्यक्तिहरु सम्मिलित गरी एक ११ सदस्यीय स्टेयरिङ कमिटी (Steering Committee) गठन गर्ने।

४) MRS System (Membership Registration System) को पारदर्शिता र निष्पक्षताका लागि महासचिव गौरीराज जोशी र बाबुराम लामालाई सिष्टम व्यवस्थापन सम्बन्धी सम्पूर्ण अधिकार रहने गरी एक सिष्टम व्यवस्थापन समिति गठन गर्ने। उक्त समितिले आवश्यकता अनुसार विज्ञहरूलाई समितिमा राखी सिष्टम व्यवस्थापन गर्न सक्नेछ।

५) संघका विगत दशौँ र एघारौँ महाधिवेशनका सन्दर्भमा विभिन्न परिस्थितिका कारण कुल आचार्य, रबिना थापा, डा. बद्री केसी, विनोद कुँवर र राजेन्द्र कुमार शर्माको अध्यक्षतामा गठित कार्यसमितिहरूलाई पूर्व कार्यसमितिको रुपमा अभिलेखिकरण गर्ने।

६) आगामी बार्हौँ महाधिवेशनका अवसरमा, एघारौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेश गरी महाधिवेशनबाट अनुमोदन गराई एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसीले एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई हस्तान्तरण गर्ने।

त्यसैगरी, संघको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेश गरी महाधिवेशनबाट अनुमोदन गराई बार्हौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अध्यक्ष महेश कुमार श्रेष्ठले पदभार हस्तान्तरण गर्ने।

७) एनआरएनको आधिकारिकता लगायत विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने वा आपसी सहमतिका माध्यमबाट समाधान गर्ने।

८) यो सहमति सम्माननीय प्रधानमन्त्रीज्यू तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिज्यूको रोहवरमा हस्ताक्षर गर्ने र उक्त सहमति पत्रलाई परराष्ट्र मन्त्रालयमा अभिलेखित गर्ने। यो सहमतिको कार्यान्वयन संघको विधान र कार्यविधि अनुसार गर्ने । कुनै विषयमा विवाद उत्पन्न भएमा परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने। साथै यस सहमतिका सवै वुंदाहरुलाई संघको आगामी वार्हौं महाधिवेशनबाट अनुमोदन गराउने ।

९) गैरआवासीय नेपाली संघका दुबै पक्षको आर्थिक पाटोलाई पारदर्शी एवं विश्वासिलो बनाउन स्वतन्त्र तृतीय पक्षबाट अडिट गराउने।

१०) यो सहमति पत्रको कार्यान्वयन र बाह्रौ अन्तर्राष्ट्रिय महाधिवेशन र निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निश्पक्षताको सुनिश्चितताका लागि यो सहमति पत्रको अभिन्न अङ्ग हुने गरी सहमतिको कार्यविधि तयार गरिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू