शुक्रबार, ७ नोभेम्बर, २०२५
17:06 | २२:५१

यस्तो छ आयोगले तयार गरेको निर्वाचन कार्ययोजना

तोकिएको समयमा निर्वाचन नभए संविधान नै समस्या आउन सक्ने निर्वाचन आयोगको चेतावनी

नेपाली लिङ्क नोभेम्बर ७, २०२५

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको हो।

निर्वाचन आयोगले राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा निर्वाचन पूर्वतयारीको अवस्था र आगामी कार्यक्रमबारे जानकारी दिएको हो।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले संसदीय समितिलाई निर्वाचनको तयारीबारे यस्तो जानकारी दिएका हुन्।

निर्वाचन आयोगको कार्ययोजना अनुसार फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुगिसक्नेछन्। त्यसपछि जिल्लाका मतदान केन्द्रमा पठाइनेछ।

आयोगले निर्वाचनको प्रचार-प्रसारका लागि १४ दिनको समय निर्धारण गरेको छ। आयोगका अनुसार निर्वाचन प्रचार-प्रसार अवधि फागुन ४ देखि १८ गतेसम्म मात्रै रहनेछ। त्यसपछि मौन अवधि सुरु हुनेछ।

यस्तो छ निर्वाचन आयोगको कार्ययोजना :

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता – मंसिर १ देखि १० सम्म

निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन – मंसिर १० गते

मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन – मंसिर १ देखि पौष १५ सम्म

समानुपातिक निर्वाचनतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना – मंसिर १५ गते

मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी राजपत्रमा प्रकाशन गर्ने – पौष १५ गते

समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सूची पेश गर्ने – पौष १८ र १९ गते

प्रत्यक्षतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना – २०८२ माघ २ गते

संयुक्त निर्वाचन संचालन केन्द्र तथा प्रहरी संचार एकाई स्थापना र संचालन – माघ २ गतेदेखि फागुन ३० सम्म

निर्वाचन प्रचार-प्रसार अवधि – फागुन ४ देखि १८ सम्म

मतपत्र ढुवानी गरी जिल्ला जिल्लामा पुर्‍याउने – फागुन १२ भित्र

प्रचार-प्रसार निषेध अवधि – फागुन १८ गते राति १२:०० बजे देखि

मतदान २०८१ फागुन २१ गते विहान ७:०० देखि बेलुकी ५:०० बजेसम्म

दुवै निर्वाचन प्रणालीको मतगणना प्रारम्भ – २०८१ फागुन २१ गते साँझदेखि

तोकिएको समयमा निर्वाचन नभए संविधान नै समस्या आउन सक्ने निर्वाचन आयोगको चेतावनी

यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन्।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आज उनले तोकिएको मितिमै निर्वाचन हुने बताए। उनले अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएको समेत बताए। उनले आयोगले निर्वाचनको ६० प्रतिशत तयारी गरिसकेको भन्दै विगत भन्दा यो विशेष प्रकृतिको निर्वाचन भएको समेत दाबी गरे।

‘सबैले निर्वाचन हुन्छ र गर्नुपर्छ भनेर अघि बढ्नु आवश्यक छ,’ उनको भनाइ छ। उनले यसमा दुविधा गर्न नहुने भन्दै नत्र सुशासन र संविधान नै समस्यामा पर्ने दाबी गरे। उनले अहिले सविधानको धाराअनुसार नभई राष्ट्रपतिले संविधानको रक्षाको रुपमा सरकार गठन गर्दै निर्वाचन घोषणा भएको अवस्था भएकाले यो अवस्थालाई सबैले मनन् गर्नुपर्ने बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू