कीर्तिमानी जितसँगै टी-२० सिरिज नेपालको पक्षमा, वेस्ट इन्डिज ८३ रनमा अलआउट



काठमाडौं । लगातार दोस्रो जितसँगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ।
सोमबार भएको सिरिजको दोस्रो खेलमा वेष्ट इण्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले कीर्तिमानी जितसँगै १ खेल अगावै सिरिज जितेको हो।
नेपालले पहिलो पटक पूर्ण टेष्ट मान्यता टोलीसँग टी–२० आई सिरिज खेलेको हो।
पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले वेष्ट इण्डिजमाथि लगातार कीर्तिमानी जित निकालेको हो।
नेपालले दिएको १ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको वेष्ट इण्डिज १७.१ ओभरमा ८३ रनमा अल आउट भयो।
तीन वर्षपछि क्रिकेटमा पुनरागमन गरेका मोहम्मद आदिल आलमले ४ विकेट लिए। आदिलले आफ्नो स्पेलमा मात्र २४ रन खर्चे।
कुशल भुर्तेलले २ विकेट लिए। दिपेन्द्र सिंह ऐरि, करण केसी र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो।
त्यसअघि युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रनको योगफल तयार पारेको थियो।
नेपाल एक समय ६.४ ओभरमा ३–४३ को अवस्थामा रहेको थियो। चौथो विकेटका लागि सन्दीप जोरा र आशिफ शेखले १ सय रनको साझेदारी गरेपछि नेपाल बलियो योगफल तर्फ उन्मुख भएको थियो। ३९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका सन्दीप ६३ रन बनाउँदा क्याच आउट हुन पुगे।
नेपालका तर्फबाट पूर्ण टेष्ट टोलीविरुद्ध अर्धशतक पूरा गर्ने सन्दीप जोरा दोस्रो खेलाडी हुन्। सन्दीपले ३४ बलमा ३ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। राष्ट्रिय टोलीका लागि सन्दीपको यो तेस्रो अर्धशतक हो।
नेपालका लागि ओपनर कुशल भुर्तेल २ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कप्तान रोहित पौडेल ३ रन बनाउँदा बोल्ड आउट भए। कुशल मल्ल ३ रनमा रनआउट हुन पुगे।
गुल्सन झा ६ रनमा क्याच आउट भए।
आशिफ शेख ६८ रनमा अविजित रहे। आशिफले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
आशिफ शेखले ३४ बलमा ८ चौका सहयोगमा अर्धशतक पूरा गरेका थिए। पुर्ण टेष्ट टोलीविरुद्ध अर्धशतक पूरा गर्ने आशिफ पहिलो नेपाली खेलाडी हुन्।
मोहम्मद आदिल आलम ५ बलमा १ चौका र १ छक्का सहयोगमा ११ रन बनाउँदा एलबीडब्लु धरापमा परे।
वेष्ट इण्डिजका लागि अकिल हुसैन र काइल मेयर्सले समान २ विकेट लिए। जेडिया ब्लाडेसले १ विकेट आफ्नो नाममा गरे।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५