बिहीबार, ३० अक्टोबर, २०२५
23:11 | ०४:५६

निर्वाचन तयारीका लागि प्रधानमन्त्री कार्कीसँग आयोगले गर्‍यो छलफल

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२५

काठमाडौँ । फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन तयारीका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरुबीच छलफल भएको छ।

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरुसँग आयोगका पदाधिकारीहरुले भेट गरी निवार्चन तयारीका विषयमा छलफल गरेको जानकारी गराएको हो।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकताको विषय भएको बताएकी थिइन्।

निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराउने बताउँदै प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक तयारी कार्य तत्काल अघि बढाउन पनि निर्देशन दिएकी थिइन्।

त्यस्तै शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाउने र निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवाला सबसँग छलफल गरिने पनि प्रधानमन्त्रीले जानकारी गराएकी थिइन्।

सो छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू तयारी रहेको र अपुग हुने अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिँदै खरिद गरिने जानकारी गराएका थिए।

निर्वाचनका लागि राजनीतिक दल लगायत सरोकारवालाहरूसँग समन्वय गरिने जानकारी गराउँदै उनले सरकारका तर्फबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरे।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याललगायत सहभागी थिए।

त्यस्तै सम्बन्धित अधिकारीहरू र आयोगको तर्फबाट निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा तथा आयोगका सचिव महादेव पन्थलगायतको पनि उपस्थिति रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

हेर्नुस् निर्वाचन आयोगको विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू