शुक्रबार, ३१ अक्टोबर, २०२५
04:14 | ०९:५९

कार्कीले गरिन् ५ मन्त्रीको सिफारिस, भोलि शपथ

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२५

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न ५ जना मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन्।

जसमा अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रलाई स्वास्थ्यमन्त्रीका रूपमा उनीहरूको नाम सिफारिस गरेको बताइएको छ।

सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयबाट मन्त्रीहरुको सिफारिस राति आइपुगेकाले भोलि शपथ हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

सिह्ना सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। सर्वोच्च अदालतको न्यायाधीशका रूपमा १७ साउन २०७३ मा नियुक्त भएका सिह्नाले ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा सेवा निवृत्त भएका थिए।

सञ्चारमन्त्रीका रूपमा सिफारिस भएका खरेल इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्।

वरिष्ठ जलवायु तथा कृषि विज्ञ परियार समता फाउन्डेसनका अध्यक्ष समेत हुन्। उनले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरेका थिए।

पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्। अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुन सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन्। ‘रोमन म्यागासेसे अवार्ड’ विजेता पुन नेपालमा विज्ञान र अनुसन्धानको विकास गर्न लामो समयदेखि सक्रिय छन्। पछिल्लो समय उनी २०५९ सालदेखि बन्द अवस्थामा रहेको वीरगन्जस्थित कृषि औजार कारखानालाई पुन: सञ्चालनमा ल्याउँदै त्यही परिसरमा नयाँ आविष्कारका कामहरू गरिरहेका छन्।

मिश्रा पछिल्लो समय स्वास्थ्य अतिरिक्त सचिव थिइन्। उनले सो पदबाट राजीनामासमेत दिइसकेकी छिन्। स्वास्थ्य सचिवको पद रिक्त भएपछि नयाँ सचिव नियुक्तिका लागि बढुवा समितिले डा. मिश्रासहित ३ जनाको नाम सिफारिस गरे पनि तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि डा. मिश्राले असन्तुष्टि व्यक्त गरेकी थिइन्।

जेन–जीको विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको तेस्रो दिनमा तीन मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्। यससँगै कार्कीको मन्त्रिपरिषद् ९ सदस्यीय हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू