बिहीबार, ११ सेप्टेम्बर, २०२५
20:55 | ०१:४०

मुलुकलाई ‘ट्रयाक’ मा ल्याउन कुलमान घिसिङको नेतृत्वमा सरकार गठन गर्न सुझाव

नेपाली लिङ्क सेप्टेम्बर ११, २०२५

काठमाडौँ- नेपालमा जेन जी पुस्ताको अभूतपूर्व आन्दोलन पछि उत्पन्न रिक्तता अन्त्य गरी मुलुकलाई ट्रयाकमा ल्याउन विभिन्न अगुवाहरुको नाममा बहस भइरहेको छ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले उज्यालो नेपाल अभियानका संस्थापक तथा अभियन्ता कुलमान घिसिङको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न सुझाव दिएका छन्।

सामाजिक संजालमा लेख्दै पुनले भने, “प्रधान सेनापतिज्यू जेन-जीका सम्पूर्ण भाइ बहिनीहरुलाई अनुरोध – अन्तरिम सरकारको प्रधानमन्त्री चाहिं कुलमान घिसिङलाई बनाउन सुझाव दिन्छु किनभने प्रधानमन्त्रीको काम भनेको मन्त्रालयका मन्त्रीहरुलाई र सचिवहरुलाई भ्रस्टाचाररहित काम गर्न निर्देशन दिने हो। त्यो काम गर्न कुलमान घिसिङ सक्षम हुनु हुन्छ भन्ने कुरा सबै लाई थाहा छ। सुशीला कार्कीलाई नयाँ संविधानको खाका बनाउन र भ्रस्टाचार निर्मूल पार्ने कानून बनाउन जिम्मा दिए पुग्छ।

यसैगरी विदेशमा रहेको नेपाली समुदायले पनि अहिलेको विषम परिस्थितिमा सबै पक्षलाई समेटेर निकास दिनको लागि घिसिङ नै उपयुक्त व्यक्तित्व भएको बताएका छन्।

गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) अध्यक्ष प्रेम गाहा मगरले नेपालमा अहिले देखिएको संवैधानिक रिक्तता जतिसक्दो चाडो अन्त्य गर्नु पर्ने नत्र देशकै अस्तित्वमाथि खतरा उत्पन्न हुन सक्ने बताए। “हामीले ‘सेभ द नेशन, बिल्ड द नेशन’ भन्ने अभियान सुरु गरेका छौं। भ्रस्टाचारमुक्त नयाँ नेपाल बनाउन उज्यालो नेपालका अभियन्ता कुलमान नै अहिले सबै पक्षलाई स्वीकार्य हुने उपयुक्त पत्र भएकाले उहाँलाई जिम्मेवारी दिइ सबैले सघाउनुपर्छ,” गाहा मगरले भने।

उनले नेपालको नव निर्माण र पुनर्निर्माणमा प्रवासी नेपाली पनि साझेदार हुन् भन्दै जति सक्दो चाडो वंशजको नेपाली नागरिकताको निरन्तरताको व्यवस्था गरी सबै नेपाली नागरिकलाई राष्ट्र निर्माणमा सहभागी बन्ने वातावरण बनाउन पनि अपिल गरे।  

त्यस्तै नेपाल आदिवासी जनजाति महासङ्घ, अमेरिका (फिप्ना) का अध्यक्ष तथा समाजसेवी तोरण गुरुङले देशमा व्याप्त अन्यौलका माझ अन्तरिम सरकारको नेतृत्वमा सबै नेपालीले सम्मान गर्ने, आशाको संचार गर्न सक्ने अनुहार चाहिएको बताए । “कुलमान घिसिङ यसका लागि उपयुक्त पात्र हुन् । जेन-जी आन्दोलनको भावना अनुसार सुशीला कार्की, कुलमान घिसिङ लगायतलाई उपयुक्त जिम्मेवारी दिनु पर्छ,” उनले भने। 

वि.सं. २०७३ सालसम्म नेपालले दैनिक १८ घण्टासम्मको अत्यासलाग्दो लोडसेडिङ भोगी रहेको थियो । नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा आउना साथै  घिसिङले लोडसेडिङ हटाउने प्रयास सुरु गरे । केही महिनापछि नै कसैले विश्वास नगरेको लोडसेडिङको अन्त्य पनिभयो । त्यसपछि प्राधिकरणले पूर्ण विद्युतीकरण, विद्युत निर्यात, सधै घाटामा रहेको प्राधिकरणलाइ नाफामा ल्याउने, विद्युत चुहावट न्यूनीकरणगर्ने जस्ता ऐतिहासिक कामहरु सफलतापुर्वक सम्पन्न गरे ।

इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दा पनि आफ्नो कार्यकाल चार महिना मात्रै बाँकी रहंदा सरकारले पदबाट बर्खास्त गरेपछि कुलमानले उज्यालो नेपाल अभियान सुरु गरेका छन्। देशमा भ्रस्टाचार अन्त्य गरी सुशासन कायम गर्न र जेन जी पुस्ताको चाहना अनुरुप हाम्रै जीवनकालमा देश बन्न सक्छ भन्ने आशा र विश्वास जगाउन उज्यालो नेपाल अभियान सुरु गरिएको उनले बताएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू