नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई तमु समाज यूकेको स्वागत सम्मान



लन्डन- इन्टरकन्टिनेन्टल कपमा प्रतिस्पर्धा गरेर फर्किएको ६ सदस्यीय नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई तमु समाज यूकेले भव्य स्वागत तथा सम्मान गरेको छ। उक्त स्वागत तथा सम्मान कार्यक्रम टोलीको बेलायत भ्रमणका क्रममा २५ अगस्टमा तमु समाज यूकेको आफ्नै सामुदायिक भवन बारहम पार्क वेम्ब्लीमा भएको हो।
नेपालले इन्टरनेशनल फेडेरेसन अफ सेरेब्रल पाल्सी फुटबलको आयोजनामा अगस्त १७ देखि २३ सम्म बेलायतको मिडल्याण्डस्थित लबरोमा भएको महिला इन्टरकन्टिनेन्टल कपमा सहभागिता जनाएको थियो।
नेपाली टोलीमा चार सेरेब्रल पाल्सी भएका खेलाडी, एक प्रशिक्षक र एक अफिसियल गरी ६ जना सदस्य थिए। टोलीमा प्रशिक्षक सदिक्षा मल्ल र अफिसियल सबिना पराजुलीका साथै खेलाडीहरू रेवती कार्की, निरमाया मगर, रेणु भोलान र मुना श्रेष्ठ समावेश थिए।
यस खेलले अशक्तता भएका महिला खेलाडीहरूलाई आफ्नो शारीरिक क्षमता, आत्मविश्वास र टोली भावना प्रदर्शन गर्ने अवसर दिन्छ। खेलको उद्देश्य सबैलाई बराबरी अवसर दिलाउनु, खेलकुदको आनन्द लिन सक्ने वातावरण बनाउनु र अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न प्रेरित गर्नु हो। सरल भाषामा भन्नुपर्दा सेरेब्रल पाल्सी फुटबल भनेको अशक्तता भएका महिलाहरूलाई पनि फुटबल खेल्न र प्रतियोगितामा भाग लिन सक्ने अवसर दिने समावेशी खेल हो।
खेलको औपचारिक समापनपछि तमु समाज यूकेको प्रायोजनमा टोलीलाई दुई दिन लन्डनमा होटेल बसाइ र भ्रमणको व्यवस्था मिलाइएको थियो। टोली अगस्ट २४ मा लन्डन पुगेको थियो भने सम्पूर्ण बसाइ तथा यात्राको खर्च तमु समाज यूकेले नै व्यहोरेको थियो।
अगस्ट २५ मा तमु समाज यूकेकी अध्यक्ष बिन्दु घले, आमा समूहकी अध्यक्ष विमला गुरुङ र युवा सदस्य सुबिना घलेले टोलीलाई लन्डनका प्रमुख स्थलहरूको भ्रमण गराएका थिए। यस क्रममा उनीहरूले थेम्स नदीमा क्रुज यात्राको पनि आनन्द लिए।
उक्त साँझ समाजको सामुदायिक भवनमा स्वागत समारोह आयोजना गरियो। कार्यक्रममा कार्यकारी समितिका महासचिव सुव घले, कोषाध्यक्ष चन्द्रकान्त गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ, पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ र शिव चन्द्र गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ, सल्लाहकार तथा युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङसहित अन्य सदस्यहरूको उपस्थिति थियो।
दिनभरको यात्राले थकित खेलाडीहरूले सुरुमा स्वादिष्ट नेपाली खानाको आनन्द लिएपछि औपचारिक कार्यक्रम सुरु भएको थियो।
समारोहमा अध्यक्ष बिन्दु घलेले टिम म्यानेजर सदिक्षा मल्लसहित सम्पूर्ण टोलीको परिचय गराइन्। त्यसपछि संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले तमु समाज यूकेको परोपकारी कार्य र उद्देश्यबारे संक्षिप्त जानकारी दिए। त्यसपछि अध्यक्ष र संस्थापक अध्यक्षले टोलीलाई खादा पहिराई स्वागत तथा सम्मान गरे।
समारोहमा तमु समाज यूकेले टोलीका प्रत्येक सदस्यलाई खादा, समाजको लोगो अंकित प्लेक र व्यक्तिगत उपहार प्रदान गर्दै औपचारिक सम्मान गर्यो।
टिम म्यानेजर तथा प्रशिक्षक सदिक्षा मल्लले निकै भावुक हुँदै भनिन्–‘प्रतियोगितामा भागलिन तयारी गर्दा देखिनै हामीले विभिन्न किसिमका कठिनाइ ब्येहोर्नु पर्यो । विकसित देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नु हाम्रो लागि ठूलो चुनौती थियो। तर पहिलो पटक नेपाली पाल्सी फुटबल टोलीलाई युरोपमा चिनाउने अवसर पाउनु गर्वको कुरा हो। हाम्रो टोलीले अनुशासित ढंगले खेल प्रदर्शन गरी सबैको मन जितेको छ।’
उनले अगाडि थपिन् – ‘बेलायतमा नेपाली समाज, विशेषगरी तमु समाज यूकेबाट पाएको सहयोग, स्वागत र सम्मानले हामीलाई अत्यन्त गौरवान्वित बनाएको छ। अध्यक्ष बिन्दु घलेले निरन्तर अभिभावकको भूमिका निर्वाह गर्दै हामीलाई हौसला दिनुभयो। उहाँको नेतृत्वमा समाजका सबै सदस्यहरूले साथ र सहयोग गर्नुभएकोमा हामी हृदयदेखि आभारी छौं। यो सम्मान हाम्रो टोलीका लागि पहिलो अनुभव हो, जसले हामीलाई गहिरो रूपमा भावुक बनाएको छ।”
समारोहको अन्त्यमा टोलीको तर्फबाट तमु समाज यूकेकी अध्यक्षलाई मायाको चिनो प्रदान गरिएको थियो। अन्तिम मन्तव्य दिँदै अध्यक्ष बिन्दु घलेले भनिन् –”नेपाली फुटबल टोलीलाई सहयोग र सम्मान गर्न पाउनु हाम्रो मात्र नभई सम्पूर्ण समाजको गर्वको विषय हो।”
उनले आगामी दिनहरूमा पनि यस्तै सहयोग र एकताका साथ अघि बढ्ने विश्वास व्यक्त गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवादसहित औपचारिक कार्यक्रम समापनको घोषणा गरिन्।
कार्यक्रम साँझ ७ बजे सुरू भई राती १० बजे सम्पन्न भएको थियो। औपचारिक कार्यक्रम महासचिव सुव घलेले सञ्चालन गरेका थिए।
कार्यक्रमपश्चात शिव कुमार गुरुङ र धरम बल गुरुङले टोलीलाई होटेलसम्म पुर्याए। अगस्ट २६ मा अध्यक्ष बिन्दु घले, सुबिना घले, गंगाबहादुर गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले टोलीलाई हिथ्रो विमानस्थलसम्म पुर्याएर विदाइ गरेका थिए।
-शिवकुमार गुरुङ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५