डा. पौड्यालद्वारा लिखित ‘पवित्र समाजवाद’ पुस्तक सार्वजनिक



काठमाडौं- डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित पुस्तक ‘पवित्र समाजवाद’ सार्वजनिक गरिएको छ ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत साउन १७ गते शनिबार आयोजित समारोहमा थैलीमा राखिएको उक्त पुस्तक झिकेर पूर्वप्रशासक, लेखक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसी र फोटोग्राफर तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानले संयुक्त रूपमा सार्वजनिक गरे ।
‘पवित्र समाजवाद’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २ सय ५७ औँ पुस्तक हो । यस पुस्तकका लेखक डा. गोपाल पौड्याल ‘मण्डने’ काभ्रेपलाञ्चोक जिल्लाका राष्ट्रिय प्रतिभा हुन् तर हाल बेलायत बस्छन् ।
नेपाली पनलाई आधार बनाएर पवित्र समाजवादको सिद्धान्त प्रस्तुत गरिएको यस पुस्तकले नेपाललाई सुशासनयुक्त समुन्नत राष्ट्र बनाउने छुट्टै मार्गचित्रको परिकल्पना गरेको छ । ३ सय ४ पृष्ठको यो पुस्तक मूल्य ५ सय रुपियाँ छ ।
नेपाललाई भ्रष्टाचारमुक्त, द्रुत न्यायप्रणालीयुक्त र आर्थिक रूपमा समृद्ध राष्ट्र बनाउन यो पुस्तक सफल हुने विश्वास डा. रत्नकमल वैद्यको छ ।
डा. इन्दुल केसीका अनुसार गहिरो अनुसन्धान गरी व्यावहारिक दृष्टिकोण र नीतिनिर्माणका ठोस उपायहरू यस पुस्तकमा प्रस्तुत गरिएको छ । एकदिने अदालतको व्यवस्था र प्रशासनिक सुधार जस्ता विषयहरू यस पुस्तकका मुख्य विशेषता हुन् ।
न्यायिक सुधार, प्रशासनिक सुदृढीकरण र आर्थिक क्रान्तिको खाका कोर्न यस पुस्तकले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । देशको रूपान्तरणका लागि यो पुस्तक मार्गदर्शक बन्नेछ ।
शिक्षासेवी तथा साहित्यकार महेश्वर खनालले ‘पवित्र समाजवाद’ पुस्तक विश्वविद्यालयले समाजशास्त्र, राजनीतिशास्त्र, संस्कृति, वातावरण र कृषि जस्ता विषयको पाठ्यपुस्तक बनाउन योग्य रहेको र एमए, एमफिल र पीएचडी गरिरहेका शोधार्थीहरूका लागि अत्यन्त उपयोगी हुने धारणा राखे ।