शुक्रबार, २५ जुलाइ, २०२५
22:10 | ०२:५५

एनआरएनए बेलायत: गुटबन्दी र संरचनात्मक अस्पष्टताको चङ्गुलमा

डा राम अधिकारी जुलाइ २४, २०२५

लेखक डा. राम अधिकारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको जन्म बेलायतमै भए पनि यसको संस्थागत जीवन नेपालमा देखिएका उही नकारात्मक प्रवृत्तिहरू— जातीय गुट, राजनीतिक चाकरीवाद, निजी स्वार्थ, पदलोलुपताबाट आजसम्म पनि मुक्त हुन सकेको छैन।

यस संस्थाको स्थापना बेलायतको हकमा यस देशमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको साझा छाता संस्था बनोस् भन्ने उदेस्यले स्थापना गरिएको थियो । तर आजका दिनसम्म आइपुग्दा पनि यो संस्था एक सीमित गुट, निश्चित अनुहार, र राजनीतिक पहुँच बोकेको संजालमा अपहेलित हुँदै गएको देखिन्छ।

वर्तमान परिदृश्य: निर्वाचन २०२५–२०२७

२०२५–२०२७ को कार्यकालका लागि सुरु भएको निर्वाचन प्रक्रियामा होमिएका प्रतिनिधिहरु पनि फेरि उही पुरानै कथा दोहोर्‍याउने जोड बलमा देखिन्छन् । धेरै उम्मेदवारहरू कुनै न कुनै जातीय गुट, र राजनीतिक चिनारी वा पूर्वसत्तासीन गुटहरूको समर्थनमा अगाडि आएका देखिन्छन्।

केही अपवाद स्वरूप स्वच्छ छवि, सेवा भाव र समावेशी दृष्टिकोण भएका उम्मेदवारहरु छन् । तर, के ती प्रतिनिधिहरुलाई बेलायती नेपाली समाजले संस्थाको नेतृत्वमा ल्याउला त ? आजको सबैभन्दा ठूलो चुनौती यही नै हो । गैर आवासीय नेपाली संघ बेलायत मा आबद्ध भएका सम्पूर्ण सदस्यहरुले यस बेला गहन रुपमा सोच विचार पुर्‍याइ आफ्नो मतको प्रयोग गर्नुपर्ने बेला आएको छ । 

यस्तै गलत प्रवृति हाबी भएका कारण आज यो संथा बेलायत मा मात्र नभई अन्तरास्ट्रिय स्तरमा समेत आलोचित र बिबादित हुन पुगेको तथ्य हामी सामु लुकेको बिषय होइन, फलस्वरूप यसले आज आएर कानुनी झमेलामा समेत पर्नु परेको छ ।  फेरी पनि संस्थाका प्रतिनिधि छनोटमा बेलायतबासी नेपाली हरुले यिनै पात्रहरुलाई प्रश्रय दिने हो भने यस संस्थाले आज सम्म जे जति थोर बहुत साख र उपलब्धिहरु प्राप्त गरेको छ, त्यो समेत गुमाउन ढिला हुने छैन । 

बेलायतमा रहेका एनआरएनए राज्य परिषदहरू किन कमजोर छन्?

एनआरएनए बेलायतले बेलायतभर छरिएर रहेका नेपाली समुदायलाई समेट्ने प्रयास स्वरूप चारवटा राज्य परिषदहरूको प्रारूप त अवलम्बन गर्‍यो तर त्यो संरचना केवल कागजमै सीमित भएको स्पष्ट देखिन्छ। आजका दिनसम्म पनि ती परिषदहरू कति हदसम्म स्वायत्त छन् ?

उनीहरूको कानुनी र संस्थागत हैसियत के हो? आफ्ना कार्यक्रम बनाउने, नीति निर्माणमा सुझाव दिने, संस्थाको बिधानले तय गरेका राष्ट्रिय, क्षेत्रीय र अन्तरास्ट्रियस्तरका प्रतिनिधिहरुमा ति राज्यहरुको समावेशीता के कति छ?

ति राज्य परिषदहरुलाई सांगठानिक र आर्थिक रुपमा के कति हदको स्वयतता र आबद्धता निश्चित गरिएको छ? त्यस्ता कुराहरु निश्चित गरि संस्था संचालन गर्नु के यो संस्थालाई कमजोर पार्नु हो ? यी सवालहरूको आजसम्म कुनै स्पष्ट उत्तर छैन। त्यसैले यी राज्य परिषदहरू आज पनि न त पूर्ण रूपमा स्वतन्त्र छन्, न त सशक्त अंगको रुपमा कार्य गर्न सक्षम छन्।

यो संरचनात्मक अस्पष्टताकै कारण गुट र केन्द्रीकृत सत्ताको प्रभाव अझ मजबुत हुँदै गएको छ। स्थानिय नेतृत्व दबिन्छ, नयाँ सोच र विचार पाइदैन, र समुदायको प्रतिनिधित्व संकुचित स्वरूपमा सीमित हुँदै गइरहेको छ ।  

सामाजिक संस्था संचालन गर्नु भनेको केवल पद धारण गर्नु मात्र होइन । त्यो त सेवा भाव, पारदर्शिता, र सामूहिक हितप्रतिको प्रतिबद्धता हो । सामाजिक संस्थामा अगुवाई गर्ने पात्रहरु व्यक्तिगत लाभभन्दा माथि उठ्नु पर्दछ । जात-धर्म-राजनीतिक पूर्वाग्रहबाट मुक्त हुनु पर्दछ, पारदर्शिता र जवाफदेहितामा विश्वास राख्नु पर्दछ । बेलायतको विविध नेपाली समुदायलाई समेट्न सक्ने दृष्टिकोण राख्नु पर्दछ, युवा सोच र अनुभवी मार्गदर्शनबीच सन्तुलन कायम गर्न सक्ने पर्दछ । 

नेतृत्वमा विभिन्न नाम धारण गरेका गुट/उपगुटले प्रश्रय पाउँदा गैर आवासीय नेपाली संघ बेलायत सांगठानिक रुपमा सहि बाटो लिन नसक्नुका कारणहरु यस्ता छन् । जस्तै: योग्य र कर्मठ व्यक्तिहरु नेतृत्वबाट पछाडि धकेलिनु, संस्थामा आन्तरिक मतभेद र भ्रस्ट प्रवृति हाबी हुनु, समुदायका वास्तबिक प्रतिनिधिहरुको संस्थाप्रति चासो घट्दै जानु, संस्थागत नीति निर्माणमा दिशाहीनता देखिनु, नयाँ पुस्ताले संस्था प्रति चासो नदेखाउनु । 

अबको बाटो: सुधारको दिशा

यो निर्वाचन केवल नेतृत्व परिवर्तनको प्रश्न होइन । संस्थागत संस्कारको निर्माण र नयाँ सोचको सुरुवात हो। यसर्थ अब नेतृत्व त्यस्ता पात्रलाई दिनुपर्छ जसले गुट उपगुटको आडमा कहिल्यै पद खोजेनन्, जसले सामाजिक संघ संस्थामा रही काम गर्दा पारदर्शी, जवाफदेही र समावेशी चरित्र प्रदर्शन गरेका हुन्, जसले ‘नेपाली हुँ’ भन्ने परिचयलाई जात, क्षेत्र वा दलभन्दा माथि राख्न सकेका छन्।

निष्कर्ष

एनआरएनए बेलायत आज एक निर्णायक मोडमा पुगेको छ। यदि फेरि पनि उही अनुहार, उही गुट र उही प्रवृत्तिहरूले जिते भने संस्था फेरि पनि नेपाली समाजको साझा संस्था होइन, केही व्यक्तिको निजी क्लव बन्ने खतरा कायमै रहनेछ। त्यसैले आज बेलायतमा रहेका सम्पूर्ण नेपाली समुदायले संस्थामा सही नेतृत्व चयन गरि संस्थाको साख माथि उठाउन पहल गर्न जरुरी छ ।

हामी अब पुरानै गलत प्रवृत्तिमा होइन, नयाँ सोच र मूल्यमा आधारित नेतृत्वमा विश्वास गर्छौं।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू