आइतबार, असार ८, २०८२
20:59 | ०१:४४

क्षेत्री समाज बेलायतको वार्षिक भेटघाटमा सुनिता दुलाल र बालचन्द्रको विशेष प्रस्तुति

नेपाली लिङ्क जुन २१, २०२५

लन्डन- क्षेत्री समाज बेलायतले आगामी १२ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा गर्न लागेको वार्षिक भेटघाट कार्यक्रममा नेपाली लोक संगीतका लोकप्रिय कलाकारद्वय सुनिता दुलाल र बालचन्द्र बरालले आकर्षक सांगीतिक प्रस्तुति दिने भएका छन्। 

उनीहरुको साथमा डिजे हेम विष्टको  सांगीतिक सहकार्य समेत रहने आयोजकले बताए ।

कार्यक्रममा नेपाली कला संस्कृति र परम्परा उजागर गर्ने विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ। 

क्षेत्री समाज बेलायतको कल्चरल सेक्रेटरी सन्तोषी कार्कीले यसपटक युवा पुस्तालाई प्रोत्साहन गर्न विशेष कार्यक्रम समेटिएको बताएकी छन्। जो जहाँ बसेपनि नेपाली मूल पहिचान र संस्कृति जोगाउनु सबैको दायित्व हुँदा यसैलाई मध्यनजर राखेर विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछ ।

‘जातको लागि होइन, साथको लागि हामी’ भन्ने मूल नारा बोकेर अगाडि बढिरहेको समाजले समुदायभित्र आपसी सम्बन्ध मजबूत पार्न र सामाजिक सेवामा संलग्न हुन विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। विशुद्ध सामाजिक र सांस्कृतिक भावना तथा उद्देश्यले स्थापित यस संस्थाले नेपाली ऐतिहासिक धरोहर, सांस्कृतिक विरासत र युवा सशक्तिकरणमा विशेष जोड दिंदै आएको छ ।

पछिल्लो नयाँ पुस्तालाई नेपाल र नेपाली परम्परा, संस्कृति तथा रहनसहनमा निरन्तरता दिलाउनुका साथै हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्नेहरुलाई प्रोत्साहनस्वरूप सम्मान पनि गर्दै आएको छ ।

उक्त कार्यक्रममा सहभागी भइ भेटघाट सफल पारिदिन समाजले बेलायतमा बसोबास गर्ने सम्पूर्ण क्षेत्री समुदायलाई आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू