नेपाली मिडिया सोसाइटी यूके गठन



लन्डन । बेलायतमा बसोवास गरी डिजिटल मिडियामा क्रियाशील मिडियाकर्मीहरूले नेपाली मिडिया सोसाइटी यूके गठन गरेका छन् ।
आइतबार लन्डन ह्यारोमा सम्पन्न एक भेलाले किरण राईको अध्यक्षतामा नेपाली मिडिया सोसाइटी यूके गठन गरेको हो । उपाध्यक्षमा सरोजजंग थापा र विनोद राई चयन भएका छन् भने महासचिवमा तेजकुमार माबो, कोषाध्यक्षमा रन्जित राई र सदस्यहरूमा उदय राई, निरन क्षेत्री, रोशन लिम्बू, नवीना राई र सुमन लिम्बू चयन भए।
भेलाले नेपाली मिडिया सोसाइटीको सल्लाहकारमा जसराज चेम्जोङ र गंगा रानालाई चयन गरेको छ ।
समय र बढदो आधुनिकतासंगै डिजिटल मिडियाको प्रभाव क्रमशः बढिरहेको सन्दर्भमा सञ्चारकर्मलाई अझ विश्वसनीय, जिम्मेवार र व्यवसायिक बनाउनुपर्ने आवश्यकता मनन गर्दै सोसाइटी गठन गरिएको अध्यक्ष राईले जनाए ।
बेलायतमा नेपालीहरूको सघन बसोबास वृद्वि भइरहेको अवस्थामा डिजिटल मिडिया लगायत माध्यमबाट नेपाली कला संस्कृति, भाषा, धर्म, संस्कारको जगेर्ना र मातृ देशसंग जोड्ने उद्देश्यसहित सामाजिक दायित्व पूरा गर्ने लक्ष्य सोसाइटीको छ ।
सोसाइटीले डिजिटल पत्रकारितालाई अझ परिष्कृत गर्ने लक्ष्य पनि राखेको छ । सोसाइटीले यसै वर्ष अधिवेशन गर्ने र संस्थालाई गतिशिल र चलायनमान बनाउन तत्कालै विधान र कार्ययोजना समेत बनाउने भएको छ ।
गैरनाफामूलक (मुनाफा वितरण नगर्ने) कम्पनीका रूपमा दर्ता गरी संस्थाले डिजिटल पत्रकारिताको व्यावसायिक स्थायित्व, मर्यादा र गरिमा अभिवृद्धि गरी अनलाइन, मल्टिमिडिया लगायत अन्य डिजिटल पत्रकारितालाई थप विश्वसनीय बनाउन सशक्त भूमिका निभाउने उद्देश्य समेत लिएको छ ।