बिहीबार, जेठ १६, २०८२
21:57 | ०२:४२

तमुधिं यूके भवनमा विशेष कार्यक्रमसहित मनाइयो साम्बाको जन्मदिन

नेपाली लिङ्क मे २७, २०२५

लन्डन- नेपालकी राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो २९औं जन्मदिन बेलायतमा मनाएकी छन्।

आइतबार सम्पन्न २३ औं गोर्खाकपमा विशेष अतिथिका रुपमा सहभागी हुन बेलायत आएकी साम्बाको जन्मदिन सोमबार आयोजक तमुधिं यूके भवन मिचेटमा भव्य समारोहसाथ मनाइएको हो ।

तमुधिं यूकेको कार्यसमिति तथा ट्रष्टी, सल्लाहकारसहितका सयौं सदस्यहरुको माझमा साम्बाले आफ्नो जन्मदिनको केक काटेकी थिइन् ।

त्यसअघि साम्बालाई तमुधिं यूकेका तर्फबाट अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह प्रमुख कमलादेवी गुरुङले पुष्पगुच्छा र दोसल्लासहित स्वागत तथा सम्मान गरेका थिए।

सो अवसरमा अध्यक्ष गुरुङले साम्बाको सहभागिताले यस वर्ष गोर्खाकपको गरिमा र रौनक झन् थपिएको भन्दै निमन्त्रणा स्वीकार गरेकोमा उनलाई धन्यवाद दिए।

नेपालकै प्रतिष्ठा उचो पार्ने कीर्तिमानी राष्ट्रिय खेलाडी साम्बालाई तमुधिं भवनमा स्वागत गर्न र संगै जन्मदिन मनाउन पाउंदा गौरव लागेको उनले बताए।

साम्बाले पनि गोर्खाकपका लागि बेलायत आउँदा आफूलाई प्राप्त अपार माया, सद्भाव र सत्कारका लागि आयोजक तमुधिं यूकेप्रति आभार प्रकट गरिन्।

सोही अवसरमा तमुधिं यूकेले गोर्खाकपमा सहभागी हुन बेलायत आएका अरु केही अतिथिलाई पनि स्वागत, सम्मान तथा बिदाइ गरेको थियो ।

नेपाल प्रहरीका पूर्व एसपी प्रताप गुरुङ, श्रीमती शिल शोभा गुरुङ र छोरी प्रसिमा गुरुङ, त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डीन स्व प्रा गणेशबहादुर गुरुङपत्नी मीनाकुमारी गुरुङ, तमुधिं नेपालका अध्यक्ष हुम गुरुङ, कलाकार प्रिया गुरुङ र पवित्र गुरुङ, व्यवसायी बुद्धिमान गुरुङ, युवा व्यवसायी आशिक गुरुङ, सुरेन्द्र गुरुङलगायतलाई स्वागत एवं सम्मान गरिएको थियो।

त्यस्तै, नेपालबाट आएका पत्रकार आश गुरुङलाई बिदाई गरिएको थियो ।

महासचिव डा विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु रामचन्द्र सुर्जे गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हरि गुरुङसहित ट्रष्टी, सल्लाहकार एवम् कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

सोही अवसरमा लमजुङ समाज यूकेका तर्फबाट समेत अध्यक्ष पूर्णराज गुरुङ, आमा समूह अध्यक्ष तारा गुरुङलगायतले गृहजिल्लाकै फुटबलर साम्बालाई खादाले सम्मान गरेका थिए।

तस्विरहरु: मिलन तमु/ गोर्खा मिडिया

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू