बीसीसी यूकेले अल्डरसटमा मनायो बुद्ध जयन्ती


लण्डन- बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले धार्मिक पूजापाठसहित २५६९ औं बुद्ध जयन्ती मनाएको छ ।
गत १२ मे सोमबार अल्डरसटस्थित एम्पायर हलमा काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय दोर्जिन लामा निमा लुङ्गरिक रिन्पोछेको विशेष उपस्थितिमा धार्मिक प्रवचनका साथ बुद्ध जयन्ती मनाइएको हो ।
स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर, काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा दोर्जिन लुङ्गरिक रिन्पोछेले व्हाइट तारा लङ्ग लाइफ इम्वापरमेन्टको विशेषता र महत्वबारे प्रवचन दिएका थिए । सो प्रचवनलाई श्रद्धेय लामा सेन प्राइसले अंग्रेजीमा र खेन्पो छेवाङ्गले नेपालीमा अनुवाद गरेको थिए । सो प्रवचन पश्चात श्रद्धेय दोर्जिन रिन्पोछेले उपस्थित भक्तजनहरुलाई आयुको अभिषेक (वाङ्ग) प्रदान गरे ।
दीप प्रज्ज्वलनसंगै शुभमंगल पाठबाट शुरु भएको कार्यक्रममा स्थानीय रसमोर बरो काउन्सिल मेयर मारा मकुनुराले शुभकामना मन्तब्य दिएकी थिइन् ।
कार्यक्रममा बीसीसी यूकेका कार्यवाहक अध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक रोबिन गुरुङले बीसीसी यूकेको निमन्त्रणामा बुद्ध जयन्ती मनाउन आएका श्रद्धेय दोर्जिन रिन्पोछे, स्थानीय मेयर, धर्मगुरुहरुलगायत सम्पूर्ण आगन्तुकहरुलाई स्वागत गरेका थिए । बीसीसी यूके उपाध्यक्ष मेजर हितमान गुरुङले दोर्जिन रिन्पोछेबारे जानकारी गराएका थिए । बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देव घलेले बीसीसी यूकेबारे छोटो जानकारी दिंदै हाल संचालन भइरहेका बीसीसी यूके गुम्बाका परियोजनाहरुबारे जानकारी दिएका थिए ।
कार्यक्रममा बीसीसी यूके र बीसीसी यूके आमाहरुकोतर्फबाट प्रवचनका लागि श्रद्धेय गुरु समक्ष मण्डला अर्पण गरेका थिए । त्यस्तै, बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ र आमा प्रमुख जगना गुरुङलगायत आमाहरुले गुरुहरु संगसंगै प्रज्ञापरामिताको शुत्र पाठ वाचन गरेका थिए ।
कार्यक्रममा दोर्जिन रिन्पोछे, खेन्पो सेनाङ्ग, खेन्पो छेवाङ्ग, लोपेन भिमनाथ, लामा गुप्ती गुरुङ, धर्म गुरु सेन प्राईज, लामा दिनेश गुरुङ, सानो लामालगायत धर्म गुरुहरुको विशेष सहभागिता थियो ।
दुई चरणमा सम्पन्न बुद्ध जयन्ती कार्यक्रमको पहिलो चरणमा बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा बिहान ९ देखि ११ बजेसम्म गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्ग, लोपेन भिमनाथ योन्जनलगायत धर्म गुरुहरुले बुद्ध साधना पूजा गरेका थिए । सो अवसरमा एचक्युबीजी आर्म फोर्सेसका मेजर अनिल गुरुङले गुम्बा परिसरभित्र लुंदा लगाएका थिए ।
निःशुल्क खाना र चिया समेत व्यवस्था गरिएको उक्त बुद्ध जयन्ती कार्यक्रमलाई विभिन्न संघसंस्था र व्यक्तिहरुले भोजन तथा दीप प्रज्ज्वलनका लागि नगद तथा जिन्सी सामाग्री प्रदान गरेका थिए ।
आमा उपप्रमुख शारदा गुरुङले श्रद्धेय दोर्जिन लुङ्गरिग रिन्पोछेलगायत विशिष्ट पाहुनाहरु, धर्म गुरुहरु, उद्यमी, व्यापारी एवं दाताहरु, कार्यसमिति, आमाहरु, भोलिन्टीयरलगायत सबै सहभागी पाहुनाहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
बीसीसी यूके कार्यवाहक अध्यक्ष रोबिन गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम महासचिव मेजर कुमार गुरुङ एमभीओले संचालन गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५