बुधबार, जेठ १, २०८२
21:56 | ०२:४१

लन्डनवासी लेखक गोपी सापकोटा सम्मानित

नेपाली लिङ्क मे १३, २०२५

लन्डन । लन्डनवासी लेखक गोपी सापकोटालाई मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘पद्यप्रसाद दाहाल स्रष्टा सौगात पुरस्कार २०८१’ प्रदान गरिएको छ । 

मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि क्रियाशील स्वयंसेवी संस्था शान्ति समाजको कार्यालयमा आयोजित एक कार्यक्रममा संस्थाकी अध्यक्ष रेनुका पौडेलले लेखक सापकोटालाई सम्मानपत्र प्रदान गरिन् भने कोषाध्यक्ष चन्द्रमणि बन्जाराले पुरस्कार राशी २०  हजार हस्तान्तरण गरे । 

कार्यक्रममा संस्थाका पूर्व सभापति रामकृष्ण बरालले लेखक सापकोटाको साहित्यिक यात्राबारे बोलेका थिए भने समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले पुरस्कृत सापकोटालाई बधाई दिए ।

शान्ति समाजद्वारा प्रदान गरिने २०८१ सालका १४ वटा श्रष्टा सम्मान र पुरस्कारमध्ये १३ वटा पुरस्कारहरु २०८१ पुष १२ गते प्रदान गरिएको थियो । 


बेलायत निवासी श्रष्टा गोपी सापकोटा सो समयमा अनुपस्थित रहेकाले उनको नेपाल आगमनको बेला पारेर २०८२ बैशाख ३० गते सो कार्यक्रम गरिएको थियो ।

२०२९ सालमा जन्मिएका गैडाकोट, नवलपुर (हाल बेलायत) निवासी स्रष्टा गोपी सापकोटाका हालसम्म ११ वटा पुस्तक प्रकाशित छन् । उनका प्रकाशित कृतिहरुमा एक अन्त्य एक शुरुवात पूर्णविराम, कमिलाको सपना, खरानी, गुलाफको एष्ट्रेमा मृत्यु, कालो आकृति, अ सुसाइड नोट, प्रेम कतिपय, काँचो कागज, चिसो बाफ र लन्डन अनप्लग्ड छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू