विश्वकप लिग–२ खेल्न बेलायत आउंदै नेपाली क्रिकेट टिम, च्यारिटी डिनर शनिबार


लन्डन । स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार बिहान लन्डन उत्रने भएको छ ।
नेपाली खेलाडीहरु रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप–कप्तान), आसिफ सेख (विकेट किपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी र रिजन ढकाल ब्रिटेन आउन लागेका हुन् ।
हिथ्रो विमानस्थलमा ओर्लिएपछि क्रिकेट खेलाडीलाई माया इभेन्ट्सका पदाधिकारीले स्वागत गर्ने तयारी गरेको निर्देशक राज पाण्डेले जानकारी दिए ।
साथै माया इभेन्ट्सले ति खेलाडीको सहयोगार्थ १७ मे शनिबार लन्डनमा एक ‘च्यारिटी डिनर’ पनि गर्ने तय गरेको छ । लन्डन साउथ ह्यारोस्थित नेवाः छे रेष्टुरेन्टमा सांझ ७ बजेदेखि च्यारिटी डिनर गर्न लागिएको हो ।
क्यानको सहकार्यमा हुने उक्त च्यारिटी डिनरका लागि प्रवेश शुल्क ५० पाउण्ड (डिनरसहित) राखिएको छ । माया इभेन्ट्सका निर्देशक राज पाण्डेले खेलाडीहरुको सहयोगका लागि च्यारिटी डिनरमा आएर सघाउन इच्छुक खेलप्रेमीलाई अपिल गरेका छन् । ‘हामीसंग ८० सिट क्षमतामात्र भएकाले निमन्त्रणा गरिएका व्यक्तित्वमात्र च्यारिटी डिनरमा उपस्थित हुनुहुनेछ’, पाण्डेले भने, ‘खेलाडीलाई सहयोग र उनीहरुसंग साक्षात्कार गरि तस्विर लिने अवसर पनि हो यो । बेलैमा ‘कन्फर्म’ गरेर आउनुहोला ।’
नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ । त्यसपछि स्कटल्यान्ड गएपछि नेपालले स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ ।
नेपालले लिग–२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ । लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्नेछ । लिग–२ को खेल जेठ १९ देखि हुनेछ भने टी–२० सिरिज असार २ देखि सुरु हुनेछ ।