मंगलबार, १ जुलाइ, २०२५
14:31 | १९:१६

पाकिस्तान र भारत तत्काल युद्धविराम गर्न सहमत

नेपाली लिङ्क मे १०, २०२५

लन्डन । पाकिस्तान र भारत तत्काल युद्धविराम गर्न सहमत भएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले पाकिस्तान र भारत तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका जनाएका हुन् ।

‘पाकिस्तान आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि प्रयासरत छ’-उनले थपे ।

उता, भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र पाकिस्तानले आज शनिबार गोलाबारी र सैन्य कारबाही रोक्ने सम्बन्धमा समझदारी बनाएका जनाए । ‘भारतले सबै प्रकारका आतंकवादविरुद्ध निरन्तर दृढ र सम्झौताहीन अडान कायम राखेको छ । यसले त्यसो गरिरहनेछ’, उनले थपे।

भारतका विदेश सचिव विक्रम मिश्रीले पनि भारत र पाकिस्तान दुवैले भारतीय समय अनुसार ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलाबारी र सैन्य कारबाही बन्द गर्ने बताएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका जानकारी दिएका थिए ।

सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’ सोसियलमा एक पोस्टमा अमेरिकी राष्ट्रपतिले भनेका थिए- ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्तापछि म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् ।’

ट्रम्पले सामान्य ज्ञान र उत्कृष्ट बुद्धिमत्ता प्रयोग गरेकामा दुवै देशलाई वधाई पनि दिएका थिए ।

आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानबीच दुई दशकयताकै सबैभन्दा तनावपूर्ण अवस्था सृजना भएको थियो ।

भारतले चार दिन अघि ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेपछि पाकिस्तानले पनि प्रतिआक्रमण गरेको थियो ।

गत अप्रिल २२ मा आतंककारीले भारत–नियन्त्रित कश्मीरमा नेपालीसहित २६ जना पर्यटकको हत्या गरेपछि भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाउंदै आक्रमण शुरु गरेको थियो । हवाइ आक्रमणका कारण दुवैतिर ठूलो धनजनको क्षति भइसकेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू