शनिबार, वैशाख २०, २०८२
22:55 | ०३:४०

रविनको सिर्जना र लोकनाथको प्रस्तुतिमा गीत ‘यूके बेलायत’, रिलिज् मे ९ मा

नेपाली लिङ्क मे २, २०२५

लन्डन-गायक तथा सर्जक रविन लामिछानेको सिर्जनामा लोकदोहोरी गीत यूके बेलायत तयार भएको छ ।

बेलायतस्थित सुनगाभा इन्टरटेनमेन्टका निर्देशक तथा कलाकार संयोजक लोकनाथ अधिकारीले निर्माण गरेको गीतमा गायक लामिछाने र गायिका सुनिता बुढा क्षेत्रीले आवाज दिएका छन्।

दिप गुरुङले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा लिजेन्ड्री नायक धिरेन शाक्य र पछिल्लो समयकी लोकप्रिय मोडल स्मारिका ढकालले अभिनय गरेका छन्।

गीत यूके बेलायत यही मे ९ तारिख निर्माता लोकनाथ अधिकारीको युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ ।

यूके बेलायतमा बेलायती सेनाको लाहुरेले छुट्टीमा नेपाल जाँदा आफ्नो गाउँठाउँकी मायालुसंग लगाएको मायाप्रेमको प्रसंग छ ।

गायक तथा सर्जक लामिछाने केही समयअघि सांगीतिक कार्यक्रम लिएर बेलायत आएकै बेला परिकल्पना गरेर गीत सिर्जना गरेका हुन् ।

‘बेलायतमा नेपाली दर्शक, श्रोताले दिनुभएको मायाको सम्मानस्वरुप यो गीत उपहार पस्किएको छु’, गायक लामिछाने भन्छन्, ‘गीतलाई स्वीकार गरी माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु ।’

बेलायतको नोटिङहममा बस्दै आएका निर्माता लोकनाथ अधिकारीले पनि गीत दर्शक, श्रोताको मन जित्न सफल हुने विश्वास गरेका छन्।

‘गीत उत्कृष्ट बनेको छ । म्यूजिक भिडियो पनि निकै मेहनतका साथ निर्माण गरेका छौं’, अधिकारीले भने, ‘धेरै तयारी र लगानी गरेर निर्माण भएको गीतले सबैको मन जित्छ भन्ने विश्वास लिएका छौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू