बिहीबार, वैशाख १८, २०८२
06:47 | ११:३२

लन्डनमा लिम्वुहरुले मनाए मौलिक पर्व यक्वा तङ्नाम

नेपाली लिङ्क अप्रिल २४, २०२५

लण्डन । किरांत याक्थुङ चुम्लुङ युके, ग्रेटर लण्डन जेष्ठ शाखाको आयोजनामा बेलायतमा रहेका लिम्वुहरुले आफ्नो मौलिक पर्व यक्वा तङ्नाम मनाएका छन् ।

गत शनिबार फेल्थामस्थित स्प्रीङगेष्ट एकेडमीको सभाहलमा आयोजित कार्यक्रम प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङकी केन्द्रिय अध्यक्ष कमला लिम्वुले सम्वोधन गरेकी थिइन् । 

उनले युवा पुस्ताको सहभागिता बिना आफनो संस्कार, संस्कृति, भाषा र लिपीको जर्गेना गर्न नसकिने बताउँदै ग्रेटर लण्डन जेष्ठ शाखाले युवा पुस्तालाई सदस्य बनाउंदै हरेक कृयाकलापमा युवाहरुलाई सकृय सहभागी गराउन सफल भएकोमा धन्यवाद दिइन् ।


औपचारिक कार्यक्रमको अध्यक्षता गरेका शाखा अध्यक्ष कुलकेशर लिम्वुले सहभागी सबैलाई यक्वा तङ्नाम र नेपाली नयां वर्ष २०८२ को शुभकामना दिए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरुलाई धन्यवाद पनि दिए । 

उक्त कार्यक्रम संचालन शाखाका सचिव पदम फागो चोङवाङले गरेका थिए भने उपाध्यक्ष सुस्मिता कन्दङवाले स्वागत मन्तव्य दिएकी थिइन् । उपाध्यक्ष दिपेन्द्र लोक्समले यक्वा तङ्नामबारे चर्चा गरे । यसलाई लिम्वु समुदायमा अन्नवाली रोप्ने बेलामा राम्रो फलोस् भनेर भूमिलाई पूजा (उभौली) गर्ने पर्वको रुपमा लिइन्छ ।

सो अवसरमा नेपाल पत्रकार महासंघ युकेको पहिलो महिला अध्यक्ष निर्वाचित भएकोमा बिमला सेनेलाई विशेष सम्मान गरिएको थियो । सम्मान पछि बोल्दै सेनेले जनजातिहरु त्यसमा पनि लिम्वु समुदाय मिडिया फ्रेन्डली नभएको गुनासो गर्दै आफनो कुरा राख्न कहिल्यै पछि नपर्न आग्रह गरेकी थिइन् । 


साथै डिजिटल प्रविधिको विकाससँगै सामाजिक संजालहरुको बढदो प्रयोगले सूचना प्रवाह बढे पनि सूचनाको श्रोत र विश्वासनियतामा ध्यान दिएरमात्र आफनो धारणा बनाउन अनुरोध गरिन् ।

कार्यक्रममा शाखाका संस्थापक सदस्यहरुलाई सम्मान पत्र तथा आजीवन र नयाँ सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । साथै शैक्षिक क्षेत्रमा विशेष योग्यता हासिल गरेका सदस्यहरुलाई प्रशंसा पत्रसहित वधाई दिइयो । 

चुम्लुङको प्रतिनिधित्व गर्दै नेपाली मेलामा धान नाच र च्याब्रुङ नाचेर प्रथम भएकोमा त्यसका संयोजक पूर्ण वोख्खिम तथा युवा कलाकारहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा भाग्य चिठ्ठा तथा तम्वोला खेलाइएको थियो जसलाई सल्लाहकार तथा शाखाका पूर्व अध्यक्ष पूर्ण वोख्खिमले रोचक ढंगले संचालन गरेका थिए ।

औपाचारिक कार्यक्रमपछि सांस्कृतिक विभाग प्रमुख तथा गायिका कला चेम्जोङले मनोरन्जनात्मक कार्यकम संचालन गरेकी थिइन् । कार्यक्रममा च्याब्रुङ नाच, धान नाच लगायत अन्य गीत संगीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा समाजसेवी तथा किरात याक्थुङ चुम्लुङकी पूर्व सल्लाहकार अग्रज महिला नरकुमारी लिम्वु, हिलिङडन गोर्खा नेपाली समाजका पूर्व अध्यक्ष छत्रसिं तेयुङ, सेनेहाङ समाज युके अध्यक्ष खगेन्द्र सेनेहाङ, नेपाली समाज हन्स्लोका पूर्व अध्यक्ष राम पोमु, समाज सेवी राम इजम लगायत शाखा सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू