बेलायतको गल्कोट हाउस व्यवस्थापनका लागि ७ सदस्यीय समिति गठन


लन्डन- गल्कोट समाज यूकेले बर्मिङहमस्थित समाजको भवन व्यवस्थापनका लागि एक समिति गठन गरेको छ ।
आइतबार अल्डरसटको एम्पायर ब्यांकेटिङमा समाजका अध्यक्ष चन्द्र साहनीको अध्यक्षतामा सम्पन्न बैठकले सात सदस्यीय गल्कोट हाउस व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।
समाजका सचिव राजु बोहोराका अनुसार समितिमा संस्थापक अध्यक्ष रेशम बुढाथोकी, पूर्व अध्यक्षहरु राजु कंडेल र भोजराज कंडेल तथा वर्तमान अध्यक्ष चन्द्र साहनीसहित हालसम्मका सबै अध्यक्ष रहनेछन् । उनीहरुलाई नै समितिमा बाँकी तीन सदस्य मनोनित गर्ने जिम्मेवारी समेत दिइएको छ ।
बैठकले यसअघि भवन खरिदका लागि बनाइएको समिति भंग गर्दै अब भवनको व्यवस्थापन तथा सञ्चालनका लागि नयाँ समिति बनाएको हो ।
बैठकले समाजको वार्षिक समर भेला आगामी २८ जुलाई सोमबार बर्मिङहममा आयोजना गर्ने निर्णय पनि गरेको सचिव बोहोराले जानकारी दिए।
अंग्रेजी नयाँ वर्ष तथा माघेसंक्रान्ति शुभकामना कार्यक्रम
यसैबीच, बैठक समापन भएसंगै सोही भेन्यूमा समाजको लन्डन क्षेत्रीय समितिको आयोजनामा अंग्रेजी नयाँ वर्ष तथा माघेसंक्रान्ति शुभकामना कार्यक्रम गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष चन्द्र साहनीले अंग्रेजी नयाँ वर्ष तथा माघे संक्रान्तिको शुभकामना दिए । उनले कार्यक्रममा सहभागी सबै अतिथि तथा समाजका सदस्यहरुलाई स्वागत पनि गरे ।
समाजका सचिव राजु बोहोराले सञ्चालन गरेको कार्यक्रम लन्डन क्षेत्रीय समितिका अध्यक्ष णनाथ गैरेको टीमले संयोजन गरेको थियो ।
उक्त कार्यक्रममा एनआरएनए उपमहासचिव सोम सापकोटा, एनआरएनए सचिव दयानिधि सापकोटा, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, एनआरएनए यूके पूर्व महासचिव फडिन्द्र भट्टराई, सेफ एशोसिएसन यूके अध्यक्ष कोश्लेश्वर ढकाल, पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापति, आरजीएनएस महासचिव ह्यारी गुरुङ, बाग्लुङ समाज यूके निवर्तमान अध्यक्ष छविमाया पुन, स्वीन्डन समाज अध्यक्ष ज्ञानप्रसाद गुरुङलगायत अतिथि उपस्थित थिए ।
त्यस्तै, समाजका निवर्तमान अध्यक्ष भोजराज कंडेल, कोषाध्यक्ष तथा एनआरएनए यूके उपाध्यक्ष सुरेश परियार, पूर्व महासचिव तथा एनआरएनए आइसिसी सदस्य विष्णु चालिसे, बिहुंकोट नेटवर्क यूके अध्यक्ष शिव कंडेललगायतको पनि कार्यक्रममा उपस्थिति थियो ।
तस्विर: शैरेश सापकोटा
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५