सिएनएस यूकेले मासिक वेभिनार सन्चालन गर्ने


रेडिङ । सेन्टर फर नेपाल स्टडिज युके (सिएनएस यूके) ले नयाँ वर्ष २०२५ देखि ‘नेपाल डायलग यूके’ नामक नयाँ मासिक अनलाइन वेभिनार श्रृंखला सुरु गर्ने भएको छ। नेपाल, नेपाली संस्कृति, र प्रवासी समुदायबारे सहकार्य गर्दै ज्ञान आदानप्रदान गर्ने लक्ष्यका साथ यो वेभिनार शुरु गरिएको सिएनएस यूकेले जनाएको छ ।
यो कार्यक्रमको पहिलो श्रृंखला शनिबार ४ जनवरी, २०२५ का दिनदेखि औपचारिक रूपमा सुरु हुनेछ । त्यसपछि हरेक महिनाको पहिलो शनिबार बिहान बेलायती समयअनुसार १० बजेदेखि ११:१५ बजेसम्म (नेपाली समय दिउँसो ३:४५ बजेदेखि ५ बजेसम्म) सो वेभिनार सन्चालन हुनेछ ।
पहिलो सत्रमा नेपालबारे दशकौँदेखि अनुसन्धान गर्दै आएका अक्सफोर्ड विश्वविद्यालयका पूर्व प्राध्यापक डेभिड गेल्नरले ‘नेपाल र प्रवासमा मन्दिर र पहिचान’ विषयमा प्रस्तुति दिनेछन् ।
‘यो सत्रले नेपाल (जन्मभूमि) र नयाँ आप्रवासन गन्तव्यहरू, विशेष गरी बेलायतमा हुने दैनन्दिन धार्मिक अभ्यासहरूबारे गहिरो अनुसन्धानमा आधारित जानकारी प्रदान गर्नेछ’, नेपाल डायलग यूकेका संयोजक डा. कृष्ण अधिकारीले जानकारी दिँदै भने- ‘हामी आशा गर्छौं कि यसले विचारोत्तेजक छलफलहरूलाई प्रेरित गर्नेछ साथै नेपाल र नेपाली प्रवासी समुदायलाई जोड्दै सांस्कृतिक अभ्यासहरूको समझदारी र साझा शिक्षालाई प्रवर्द्धन गर्नेछ।’
सिएनएस यूकेका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले वेभिनार श्रृंखला अर्थपूर्ण संवादका लागि एक जीवन्त मञ्च सिर्जना गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताए । ढकालले भने, ‘अनुसन्धाताहरू, शिक्षाविद्, पेशाकर्मीहरू र सर्वसाधारणलाई एकत्रित गरी नेपाल र प्रवासी नेपाली समुदायका लागि महत्त्वपूर्ण विषयवस्तुहरूमा छलफल गर्ने आशा हामीले गरेका र्छौं ।’
यो वेबिनार श्रृंखलामा नेपाल र प्रवासी नेपाली समुदायसित सम्बन्धित विभिन्न प्राज्ञिक अनुसन्धानात्मक छलफलका साथै विभिन्न दैनन्दिन सरोकार विषयहरू समेटिनेछन् । सिएनएस यूकेले यस वेभिनारमा अन्य संस्थाहरूसित पनि सहकार्य साझा चासोका विषयमा छलफल गराउने योजना पनि बनाएको छ । जूमबाट हुने यस वेभिनारमा निशुल्करूपमा सहभागी हुन सकिने छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५