मंगलबार, १९ मे, २०२६
05:39 | १०:२४

दशैं मान्न उपत्यकाबाट ८ लाख बाहिरिए

रासस अक्टोबर १०, २०२४

काठमाडौँ । हिन्दू नेपालीहरुको महान पर्व बडादशैं मान्न अहिलेसम्म आठ लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।

महासंघका अध्यक्ष विजय स्वारले यस वर्षको दशैंमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए ।

“सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उनले भने, “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौँमै दशैं मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।”

उनका अनुसार शुक्रबारसम्म दशैंका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्यांक आउन बाँकी छ । “आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,” स्वारले भने ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दशैंमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनीकरण गर्न सजगताका साथ राजमार्गहरूमा ‘चेक’ भइरहेको जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू