शुक्रबार, भदौ २८, २०८१
05:37 | १०:२२

बेलायतमा ध्यान शिविर गर्दै स्वामी आनन्द अर्हत

नेपाली लिङ्क अगस्ट १३, २०२४


लन्डन – काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले यही अगष्टमा बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सन्चालन गर्न लागेका छन् ।

उनले अगष्ट १८ (आइतबार) का दिन दक्षिणपूर्वी लन्डनको फाल्कनउडस्थित ह्यारिस एकेडेमीमा एक दिवसीय ध्यान शिविर संचालन गर्ने ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले बताए ।

बुध्द फाउन्डेशन यूके, डार्टफोर्ड नेप्लिज कम्युनिटी तथा बेक्स्ली नेप्लिज कम्युनिटीसंगको सहकार्यमा आयोजना गर्न लागिएको उक्त शिविरमा सहभागी भइ लाभान्वित हुन उनले आग्रह पनि गरे ।

स्वामी अर्हतले आउँदो अगष्ट २३ देखि २६ तारिखसम्म लन्डन अक्सब्रिजस्थित डेनहाम ग्रोभ होटलमा तीन दिने आवासीय ध्यान शिविर संचालन गर्ने छन् । अगष्ट अन्तिम साता स्कटल्याण्डमा पनि एक दिने ध्यान शिविर गर्न लागिएको छ।

उक्त शिविरहरुमा सहभागी हुन स्वामी ध्यान शंकर (07886018119 ), माँ अजीता (07846602614) तथा स्वामी कृश (07846146572) लाई सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन् ।

संसारका २० बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरिसकेका स्वामी अर्हतले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताए ।

“जब हामी व्यावसायिक जीवनमा लाग्छौं, जीवनको अनुभव सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ। तर आज हामी बढी आत्तिएको अवस्था छ, स्ट्रेसको अवस्था छ।  त्यस्तो तनाव कम गर्ने ध्यानका विधिहरु सिकेर तपाईं घरमै पनि गर्न सक्नुहुन्छ,” स्वामी अर्हतले भने ।

स्वामी अर्हतका भनाइमा हाम्रा भावना वा विचारहरुबाट हाम्रो जीवन संचालित हुन्छ । ती विचारलाई कसरी सन्तुलित गर्ने? मित्रताको भावबाट आध्यात्मिक चेतसहित कसरी जिउने लगायतका विषयहरु शिविरमा सिकिने छ ।

“जेनरेशन ग्याप के हो ? हामीलाई बच्चाहरुसंग कुरा गर्न किन गाह्रो हुन्छ? त्यसको जग के हो र हामीले कसरी आफ्नै छोराछोरीसंग संवाद गर्ने कला सिक्न सक्छौं ? हल्का शरीर, शान्त मन, विचारमा स्थिरता र जगतसंगको आध्यात्मिक सम्बन्धबारे पनि हामी शिविरमा छलफल तथा अभ्यास गर्नेछौं,” उनले भने ।

त्यस्तै ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले ध्यान शिविरमा सपरिवार सहभागी हुन सबै मित्रहरुलाई आग्रह गरे ।

“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। कोभिड १९ महामारी, जलवायु परिवर्तन र ‘कस्ट अफ लिभिङ क्राइसिस’ ले उत्पन्न गरेको संकटसंग जुध्न र आफ्नो व्यवसाय र पेशामा उत्कृष्टता हासिल गर्न पनि योग र ध्यानको अत्यन्तै ठूलो भूमिका हुने प्रमाणित भएको छ,” उनले भने ।

ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणका निकट सहयोगी स्वामी आनन्द अर्हतले गत १७ वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सन्चालन गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू