नुवाकोट हेलिकप्टर दुर्घटनामा चार चिनियाँसहित पाँचको मृत्यु
नुवाकोट- नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।
हेलिकप्टरमा सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको ९ एन एजेडी हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
मृत्यु हुनेमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, चिनिया नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा दुर्घटना भएको हो ।