बेलायतमा प्रदर्शन र हुलदंगा बढेपछि एनआरएनए यूकेद्वारा सुरक्षा सतर्कता अपनाउन अपील
लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतवासी नेपालीलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन अपील गरेको छ ।
पछिल्ला केही दिनयता बेलायतमा प्रदर्शन र हुलदंगा भइरहेका सन्दर्भमा एनआरएनए यूकेले मंगलबार एक वक्तव्य जारी गर्दै सुरक्षित रहन सबैमा अपील गरेको हो ।
अध्यक्ष हित काजी गुरुङ र महासचिव गोविन्द खरेलले जारी गरेको ‘सेफ्टी एड्भाइजरी’ मा प्रदर्शन तथा हुलदंगाका लागि बढी जोखिम रहेका क्षेत्रमा नजान सल्लाह दिइएको छ । त्यस्तै, बेलायतवासी नेपालीलाई कुनै पनि प्रदर्शनहरुमा सहभागी नहुन आग्रह गरिएको छ ।
एनआरएनए यूकेले आफ्नो सुरक्षाका लागि सतर्क रहन तथा त्यस्ता कुनै पनि घटना हुन पुगेमा तत्काल स्थानीय सुरक्षा निकायलाई सम्पर्क राख्न आग्रह गरेको छ ।
बेलायतमा क्रियाशिल अन्य नेपाली संघसंस्थालाई पनि आफ्नो समुदाय तथा सदस्यहरुलाई सुसूचित गर्न तथा सुरक्षित राख्न आवश्यक सहयोग गर्न एनआरएनए यूकेले आव्हान गरेको छ ।
कुनै पनि सहयोग आवश्यक परेमा लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ । त्यस्तै, एनआरएनए यूकेलाई पनि इमेल [email protected] वा अध्यक्षलाई 07411576298 र महासचिवलाई 07462140962 मा टेलिफोन गरी सम्पर्क गर्न सकिने जनाइएको छ ।
यसअघि मंगलबार नै लन्डनस्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै बेलायतका सबै नेपालीलाई प्रदर्शन तथा हुलदंगाबाट सक्दो टाढा रहन आव्हान गरेको थियो ।
यसअघि तीन जना बालिकाको ज्यान जाने गरी चक्कु आक्रमण भएपछि बेलायत पछिल्लो सातादेखि अशान्त बनेको छ । कयौं शहरहरुमा जातीय सद्भाव भड्काउने गरी प्रदर्शनहरु भइरहेका छन् भने प्रदर्शनकै वहानामा चोरी र लुटपाटका घटना पनि भएका छन् ।
एनआरएनए यूकेद्धारा जारी ‘सेफ्टी एड्भाइजरी’: