शनिबार, साउन १२, २०८१
10:06 | १४:५१

कतारबाट फर्किएर केरा खेती, हावाहुरीले सबै सखाप पारेपछि पीडित

नेपाली लिङ्क जुन ६, २०२४

चितवन । चितवन रत्ननगर ५ टरौलीका एकला चौधरी चार वर्ष अघिसम्म दोहा कतारमा इत्तिहाड एयरलाइन्समा काम गर्थे ।  

सेफका रुपमा उनको कामसंगै निकै राम्रो तलव पनि थियो । तर परिवारसंगै नेपालमा केही गरौं भन्ने उद्देश्यले उनी नेपाल फर्किएर रत्ननगर नगरपालिका र चितवन खैरहनी नगरपालिकामा २८ बिघा जग्गा भाडमा लिएर केरा खेती गर्न थाले । 

बाउबाजे आदिवासी थारु परिवार भएकाले पनि खेतीमा असाध्यै रूची थियो एकला चौधरीको । सो केरा खेतीबाट अहिलेसम्म राम्रै आम्दानी भइरहेको पनि थियो । तर दुर्भाग्य यसपाली हावाहुरीले गर्दा सम्पूर्ण केराखेती नोक्सान भएपछि निकै दुःखी छन् उनी । 

हावाहुरीले गर्दा करिव ७५ लाख रुपैंया मूल्य बराबरको केराखेती नोक्सान भएको चौधरीले बताए ।

पूर्वी चितवनका किसानहरुमध्ये सबैभन्दा बढी मारमा आफू परेको उनी बताउंछन् । इन्सुरेन्स कम्पनीले प्रत्येक वर्ष मोटो रकम लिए पनि क्षतिपूर्ती दिन आनाकानी गरिरहेको उनको गुनासो छ । किसानलाई प्रोत्साहन गर्न सरकारको समेत कुनै पहल नहुँदा निकै दुःखी भएको गुनासो एकलाले गरे ।


लण्डनस्थित व्यवसायी जनक रोका स्कुल देखिकै निकट साथी  चौधरीलाई परेको प्राकृतिक विपत्तिबाट चिन्तित छन् ।

‘एकला मेरो अत्यन्तै इमानदार साथी हुन् । हाम्रो आत्मियता सधैं नजिक छ । म परिस्थितिले लण्डन बसेपनि उनी स्वदेशमै केही गरौं भनेर फर्किएका थिए । एक महिना अगाडि मात्र उनीसंग चितवन घरमा भेटेको थिएं’ रोका भन्छन् – ‘स्वदेशमै केही गरौं भनेर फर्किएको मान्छेलाई सरकारले पनि केही राहत दिन आवश्यक छ । आधुनिक यूगमा प्रविधि निकै पर पुगेपनि, कम्प्युटर, जहाज, सुविधाका साधन बढेपनि मान्छेले खाने खेतीबाली बाटै हो । नेपाल सरकारप्रति किसानलाई हेर्ने दृष्‍टिकोण बदलियोस् भन्ने हाम्रो माग छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू