शनिबार, साउन १२, २०८१
03:23 | ०८:०८

बीसीसी यूकेले मनायो बुद्ध जयन्ती

नेपाली लिङ्क मे २९, २०२४

लण्डन- बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध कार्यक्रमका साथ २५६८ औं बुद्ध जयन्ती मनाएको छ । गत २३ मे बिहिबार अल्डरसटस्थित एम्पायर हलमा बुद्ध जयन्ती मनाइएको हो । 

काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय हिज होलिनेश दिल्गो क्याब्जे खेन्चे याङ्सी रिन्पोछे, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीय रस्मोर बरो काउन्सिलका मेयरको विशेष उपस्थितिमा मनाइएको उक्त कार्यक्रममा काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता थियो । 

दुई चरणमा आयोजना गरिएको कार्यक्रममा बिहान ८.३० देखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, लोपेन नोर्बु, लोपेन दावालगायत गुरुहरुले बुद्ध साधना पूजा गरेका थिए ।  


त्यस्तै, दोस्रो चरणमा सोही दिन बिहान ११ बजेदेखि एम्पायर हलमा हिज होलिनेश खेन्चे याङ्सी रिन्पोछेले आयुको (लङ लाइफ) को विशेषता र महत्वबारे प्रवचन दिए । उनले कार्यक्रमको अन्त्यमा सहभागी भक्तजनहरुलाई आयुको अभिषेक (वाङ) दिएका थिए । 

सो अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य  र स्थानीय मेयरे काउन्सिलर मारा मुकुनुराले शुभकामना मन्तब्य दिएका थिए । 

कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले स्वागत मन्तव्यका क्रममा बैशाख पूर्णिमाका दिन भगवान बुद्ध जन्मेको, ज्ञान प्राप्त गरेको र परिनिर्वाण भएको दिन हो भन्दै बुद्ध जयन्तीको पावन अवसरमा सबैमा सुस्वास्थ्य, दिर्घायू र सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे । 

त्यस्तै, बीसीसी यूके वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले कार्यक्रमको अन्त्यमा श्रद्धेय गुरु यान्सी रिन्पोछे, नेपाली राजदूत आचार्यलगायत सहभागी सबैलाई धन्यवाद दिए । 

बीसीसी यूकेले हालै बनाएको १ केजी तौलको सुनको बत्ती उद्घाटन समेत गरिएको सो कार्यक्रममा बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङ, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमिति र आमाहरुले मण्डल अर्पण गरेका थिए । 


हालै बीसीसी यूकेको ट्रष्टी मेम्बर लिएका सदस्यहरुलाई सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो जसलाई बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले संयोजन गरेका थिए । 

बीसीसी यूके अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष क्याप्टेन देव घलेले हिज होलिनेश यान्सी रिन्पोछेको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, बीसीसी यूके महासचिव मेजर हितमान गुरुङ र आमा सचिव तुल्सी घलेले औपचारिक कार्यक्रम संचालन गरेका थिए । 

उक्त बुद्ध जयन्ती सफलतापूर्वक सम्पन्न गर्न बीसीसी यूकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरुले विशेष भूमिका खेलेका थिए । 

उता, बीसीसी यूके लण्डन ब्रान्चले हिज होलिनेश खेन्चे याङ्सी रिन्पोछेको विशेष उपस्थिति र लण्डन क्षेत्रका भक्तजनहरुको  सहभागितामा गत २५ मे शनिबार फेल्थाममा विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाएको छ । 

साथै २६ मे आइतबार साँझ बीसीसी यूकेको हालै अल्डरसट गुम्बा परिसरमा निर्माण भएको बत्ती घरको उद्घाटनसंगै झिन्सेक पूजा भएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू