शनिबार, साउन १२, २०८१
12:23 | १७:०८

तरुण दल लमजुङका अध्यक्ष गुरुङ ठगी कान्डमा, पक्राउ गर्न अदालतको पूर्जी

नेपाली लिङ्क मे २९, २०२४


काठमाडौँ – काठमाडौँस्थित एउटा आइटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्छु भनी दुई करोड रुपियाँ बैना लिइ उक्त जग्गा अर्कैलाई बिक्री गर्ने नेपाल तरुण दल लमजुङका अध्यक्ष ललित कुमार गुरुङलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।

प्राप्त जानकारी अनुसार आफ्नो कार्यालय स्थापना गर्नका लागि सूचना प्रविधिसम्बन्धी  कम्पनी जेनेस सलुशनले पोखरा महानगरपालिका वडा नं १२ स्थित झन्डै १३ आना जग्गा खरिद गर्न गुरुङलाई रु दुई करोड बैना वापत दिएको थियो। तर पछि उक्त जग्गा गुरुङले अर्कै व्यक्तिलाई बिक्री गरेको मालपोत कार्यालय कास्कीबाट थाहा भयो। 

त्यस पछि उक्त कम्पनीले गुरुङलाई सम्पर्क गरी रकम फिर्ता माग्दा उनले रु ५० लाख फिर्ता दिएभने बाँकी रकमको सावाँ ब्याज समेत रु एक करोड ६५ लाखको एकाउन्ट पेइ चेक जेनेस सलुशनलाई दिए।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको जावलाखेल शाखामा उक्त चेक साट्न पटक पटक जाँदा बैंकले ललित कुमार गुरुङको खातामा पर्याप्त रकम नरहेको जानकारी दियो।

त्यस पछि उक्त कम्पनीले गुरुङ विरुद्ध सम्पूर्ण प्रमाणसहित प्रहरीमा उजुरी दिए पछि ललितपुर प्रहरीको अनुरोधमा ललितपुर जिल्ला अदालतले गुरुङलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको प्रहरी श्रोतले जानकारी दिएको छ।

नेपाली कांग्रेसको भ्रात्री संस्था तरुण दलको जिल्ला अध्यक्ष रहेका गुरुङ यस अघि पनि ठगी लगायत अन्य आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू