आसफोर्डमा निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श


आसफोर्ड – नेप्लिज डक्टर्स एसोसिएसन यूके, गोर्खा पिस फाउन्डेसन र सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीको संयुक्त आयोजनामा ‘हेल्थ एजुकेसन एन्ड अवेयरनेस प्रोग्राम २०२६’ भएको छ।
स्थानीय समुदायलाई स्वास्थ्य, कल्याण तथा उपलब्ध स्वास्थ्य सेवासम्बन्धी जानकारी र पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा समुदायका सदस्यहरुलाई लक्षित गरी विभिन्न विषयगत स्वास्थ्य परामर्श तथा प्रारम्भिक स्वास्थ्य परीक्षणका कक्षहरू (स्टेशन) सञ्चालन गरिएका थिए। जसअन्तर्गत दुईवटा सर्जरी र जीपी कक्षका साथै जनरल मेडिसिन, हाडजोर्नी तथा फिजियोथेरापी, दन्त स्वास्थ्य, महिला स्वास्थ्य, बालरोग, कान-नाक-घाँटी, स्टोमा केयर, डिमेन्सिया सचेतना, र पुनर्जीवन सचेतना सम्बन्धी परामर्श सेवा प्रदान गरियो।
साथै, सहभागीहरूको रक्तचाप लगायत प्रारम्भिक स्वास्थ्य सूचक परीक्षण र स्वास्थ्य सर्वेक्षण पनि गरिएको थियो।

कार्यक्रमका दौरान स्वास्थ्य शिक्षासम्बन्धी विभिन्न प्रस्तुतिहरू समेत दिइएको थियो। डा. पुजा देवले ‘अटिज्म’, किशोर सापकोटाले ‘डिमेन्सिया’ र डा. पारुल श्रेष्ठले ‘एनएचएस सेवा र सर्वेक्षण’ सम्बन्धी जानकारीमूलक प्रस्तुति दिएका थिए।
कार्यक्रममा गोर्खा पिस फाउन्डेसनका अध्यक्ष भीमराज तुम्बाहाङ्फेले भाषा समस्याका कारण आफ्नो स्वास्थ्य समस्या राम्रोसंग बताउन नसक्ने ज्येष्ठ नगरिकका लागि यो कार्यक्रम अत्यन्तै उपयोगी भएको बताए ।
त्यसैगरी नेप्लिज डक्टर्स एशोसिएसन यूके उपाध्यक्ष डा. आशिष श्रेष्ठ र सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीका वरिष्ठ उपाध्यक्ष चिरन राईले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने स्वास्थ्यकर्मी, स्वयंसेवक, प्रायोजक तथा सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरे।
करिब २०० जना स्थानीयवासीको उपस्थिति रहेको उक्त कार्यक्रममा ‘एस्टार फाइनान्सियल सोलुसन्स’ले पिउने पानी र ‘पिपल मोर्गेजेज’ले स्टेसनरी सामग्री प्रायोजन गरेका थिए।
सौहार्द्रपूर्ण वातावरणमा सञ्चालित उक्त कार्यक्रमले बेलायतमा बसोबास गर्ने नेपाली समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले जनाएका छन्।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


