शनिबार, साउन १२, २०८१
16:57 | २१:४२

लन्डनमा पारिजातको ८७ औं जन्मजयन्ती

नेपाली लिङ्क मे १२, २०२४

लन्डन– अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाले एक कार्यक्रम गरी साहित्यकार पारिजातको ८७ औं जन्मजयन्ती मनाएको छ।

शनिबार साउथ ह्यारोमा आयोजित कार्यक्रममा हालै निधन भएका गजलकार प्रकट पंगेनी ‘शिव’ प्रति पनि श्रद्धाञ्जलि व्यक्त गरियो।

अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा अनेसास बेलायतका सल्लाहकार सुमल कुमार गुरुङले भारतको दार्जीलिंगमा सन् १९३७ मा जन्मिएकी बिष्णु कुमारी वाइबा ‘पारिजात’ नामले नेपाली साहित्यमा अमर रहेको बताए।

उनले १३ वर्षको उमेरमा असफल प्रेमका कारण डिप्रेशनमा गएकी पारिजात पछि आंशिक पक्षाघातबाट पीडित भएको तर साहित्य सिर्जना जारी राखेको बताए।

१७ वर्षको उमेरमा आफ्ना परिवारजनसंग काठमाडौँ आएकी पारिजातले त्यसपछि नेपाललाई नै आफ्नो कर्मथलो बनाएको उनले स्मरण गरे। मदन पुरष्कार प्राप्त उनको उपन्यास ‘शिरिषको फूल’ बाट नेपाली उपन्यास क्षेत्रमा नयाँ मोड आएको उनले बताए।

पारिजातका ३ ओटा कविता संग्रह, १० ओटा उपन्यास, निबन्ध तथा कथाहरु प्रकाशित छन्। सन् १९९३ मा ५६ वर्षको उमेरमा उनको निधन भएको थियो।

संस्थाका सल्लाहकार डा रुपक श्रेष्ठले गत बैशाख ४ गते निधन भएका चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’ एक बहुप्रतिभाशाली सर्जक भएको बताए।

बि. सं. २०१३ असोज २४ गते कास्की जिल्लाको तत्कालिन देउराली गाउँ पंचायत वडा नं २ मा जन्मेका प्रकट पंगेनीका २ ओटा गीत संग्रह लगायत गजल र कविता संग्रहहरु प्रकाशित भएको उनले बताए। उनका केही रचना प्रकाशित हुन बाँकी रहेको पनि उनले बताए।

प्रकट पंगेनीसंग एउटै विद्यालयमा पढेको र उनले विद्यार्थीकालदेखि नै नाटकहरुमा खेल्ने गरेको श्रेष्ठले स्मरण गरे। पोखरामा जीवन र जगत बोधका लागि ‘अक्षर यात्रा’ का एकजना परिकल्पनाकार प्रकट पंगेनीप्रति उनले भावपूर्ण श्रद्धान्जलि पनि व्यक्त गरे।

कार्यक्रममा साहित्यकार संगीता स्वेच्छाद्वारा लिखित उपन्यास ‘सेतो सिउँदो’ तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष साबी श्रेष्ठको मुक्तक संग्रह ‘अपरिभाषित आभा’ को विमोचन गरिएको थियो।

‘सेतो सिउँदो’ उपन्यासको समीक्षा गर्दै समाजका सल्लाहकार डा रुपक श्रेष्ठले १८ वर्षको उमेरमा लेखिएको उक्त उपन्यासमा तत्कालिन नेपाली समाज र नारी मनोविज्ञानको यथार्थ चित्रण गरिएको बताए।

‘यो मानव सेवाको मूल भाव बोकेको र जीवन बोध गराउने यो उपन्यास सबै उमेर समूहका पाठकहरुका लागि पठनीय छ’, उनले भने।

उपन्यासकार डा संगीता श्रेष्ठ स्वेच्छाले आफ्ना पिताको प्रेरणाले सेन्ट जेभियर्स कलेजबाट आइएससी दिएर बसेको समयमा आफूले उक्त उपन्यास लेखेको स्मरण गरिन्।

समाजकी कोषाध्यक्ष प्रतिमा केसीले ‘सेतो सिउँदो’ र कुमार केसीले मुक्तक संग्रह ‘अपरिभाषित आभा’ को समीक्षा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ नेत्र चिकित्सक डा बीरेन्द्र अमात्य, कुमार केसी, प्रेम खड्का, गङ्गा भण्डारी, जीत बुढाथोकी, विशन थापा, टेक बहादुर थापा, गोपी सापकोटा, बासुदेव सापकोटा, सारा देवी गुरुङ, माया गुरुङ लगायत सर्जकहरुले आआफ्ना रचना सुनाएका थिए।

समाजकी उपाध्यक्ष माया गुरुङले सबै सहभागीहरुलाई स्वागत गरिन् भने समाजका अध्यक्ष राज श्रेष्ठले सबैलाई धन्यवाद दिए।

सोही अवसरमा समाजका अध्यक्ष राज श्रेष्ठले अर्पिंगटन नेपाली समाजका अध्यक्ष बासुदेव सापकोटा, जीवन विज्ञान युकेका ट्रष्टी प्रेम खड्का तथा जीत बुढाथोकीले समाजको आजीवन सदस्यता प्रदान गरेका थिए।

कार्यक्रमको पहिलो सत्रको सञ्चालन समाजकी महासचिव मन्जु भण्डारीले गरेकी थिइन् भने दोश्रो सत्रको सञ्चालन कार्यसमिति सदस्य कुमार केसीले गरेका थिए।

कार्यक्रममा अनेसास मिजौरी (अमेरिका) शाखाकी अध्यक्ष उर्मिला निर्दोषी तथा बलराम पन्थी विशेष अतिथिका रुपमा सहभागी भएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू