सोमबार, जेठ ७, २०८१
00:06 | ०४:५१

गोर्खा प्यालेसको २५औं वार्षिकोत्सव च्यारिटीबाट संकलित ५ लाख मानवसेवा आश्रमलाई

नेपाली लिङ्क मे ८, २०२४

लन्डन–बेलायतस्थित एक अग्रणी समाजसेवी एवम् व्यवसायी सूर्य गुरुङले मानवसेवा आश्रमलाई ५ लाख रुपैया सहयोग गरेका छन् ।

आफू सञ्चालक रहेको गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोको २५ औं वार्षिकोत्सवमा आयोजित च्यारिटीबाट संकलित रकम उनले मानवसेवा आश्रमलाई प्रदान गरेका हुन् ।

मानवसेवा आश्रम सहयोगार्थ गतसाता बेलायतको क्याम्बर्लीमा आयोजित आनी छोइङ च्यारिटी कन्सर्टका अवसरमा सहयोगका लागि गुरुङ दम्पत्तिलाई राजदूत ज्ञानचन्द्र आचार्यले सम्मान गरेका थिए । मानवसेवा आश्रमको भवन निर्माण परियोजनाअन्तर्गत एक कोठा निर्माणको लागि आवश्यक उक्त रकम उनले सहयोग गरेका हुन् ।

रेष्टुरेन्ट वार्षिकोत्सवका अवसरमा हरेक वर्ष च्यारिटी गर्दै आएका गुरुङले जन्मभूमि र कर्मभूमि दुवैतिर सहयोग गरेका छन् । नेपालमा शैक्षिक, खेलकुद, स्वास्थ्य आदि क्षेत्र र बेलायतमा विभिन्न च्यारिटी संस्थालाई उनले सहयोग प्रदान गरेका छन्।

‘हामीले हरेक वर्ष वार्षिकोत्सव च्यारिटीबाट नेपाल वा बेलायतमा सहयोग गर्दै आएका थियौं । यस वर्ष २५ वार्षिकोत्सवका अवसरमा गरिएको च्यारिटी कार्यक्रमबाट जुटेको ५ लाख रुपैया मानवसेवा आश्रमलाई दान गर्न पाउँदा निकै खुशी छौं’, उनले भने, ‘मानवसेवा आश्रमले गरिरहेको महान मानवीय कार्यहरुप्रति समर्थन जनाउन र उहाँहरुको हौसला बढाउन हाम्रो तर्फबाट सानो सहयोग गरेका हौं ।’

एनआरएनए यूकेका पूर्व अध्यक्ष समेत रहेका गुरुङ बेलायतको नेपाली समुदायमा ‘च्यारिटी किङ’ उपनामले चिनिन्छन् ।

निजी व्यवसायबाट मात्रै नेपाल र बेलायतमा गरी डेढ करोड रुपैया बढीको सहयोग गरिसकेका उनले आफ्नो नेतृत्वमा कयौं सामाजिक एवम् परोपकारी अभियानमा समेत १० करोड बढी कोष संकलन गराएका छन् ।

तस्विर- के के मूभिज

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू