आइतबार, जेठ ६, २०८१
12:37 | १७:२२

क्रोयडन नेपाली समाज यूकेमा नयां कार्यसमिति, मनायो नेपाली नयां वर्ष

नेपाली लिङ्क मे ६, २०२४

लन्डन । क्रोयडन नेपाली समाज यूके (सीएनसी यूके) को नयां कार्यसमितिले आफ्नो पहिलो कार्यक्रम अन्तर्गत नेपाली नयां वर्ष २०८१ हर्षोल्लासका साथ मनाएको छ ।

१२ अप्रिल शुक्रबार नयां कार्यसमिति हयाण्ड ओभर टेक ओभर गरि नयां वर्ष मनाइएको हो ।

क्रोयडन तथा आसपास बसोवास गर्ने नेपालीहरुले नेपालकी राष्ट्रिय लोक दोहोरी गायिका सपना गाहामगरको सुमधुर गीतमा नाच्दै रमाउंदो नयां वर्ष शुभकामना सांटे ।

निवर्तमान अध्यक्ष श्रीमति शकुन्तला खपांगीको अध्यक्षतामा भएको औपचारिक सत्र निवर्तमान सचिव राकेश शाहले सञ्चालन गरेका थिए भने सांगीतिक सत्र सञ्चालन नयां कार्यसमितिकी सचिव श्रीमति जमुना पुन रोकाले सञ्चालन गरेकी थिइन् ।

निवर्तमान अध्यक्ष शकुन्तला खपांगीले आफ्नो कार्यकालमा सहयोग पुरयाउने कार्यसमिति साथीहरु तथा पूर्व अध्यक्षहरुलाई धन्यवाद दिंदै नयां कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइन्।

सीएनसी यूकेका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक ध्रुवहरि बास्कोटाले कार्यक्रम सफल बनाउन सघाउने सबैलाई ह्दयदेखि धन्यवाद दिंदै नयां वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका थिए ।

आफ्नो कार्यकालको औपचारिक टेक ओभर लिंदै नयां कार्यसमितिकी अध्यक्ष कमला विश्वकर्माले आफ्नो नेतृत्वले पनि विगत वर्षहरुमा जस्तै संस्थालाई अझ अगाडि बढाउन विभिन्न गतिविधि गर्ने उल्लेख गर्दै कार्यसमिति तथा पूर्व अध्यक्षहरुलाई सहयोगका लागि आव्हान गरेकी थिइन् ।

त्यसैगरि, समाजका भूतपूर्व अध्यक्ष एवं संरक्षक डा. सुरजमणि पौडेलले आफ्नो कार्यकालमा भएका उपलब्धिमूलक तथा परोपकारी कार्यहरुमाथि प्रकाश पारेका थिए । समाजले कोभिड १९ महामारीले गर्दा भएको लकडाउनका बेला मौलिक कार्यक्रमका रुपमा भर्चुअल देउसी भैली गरि विश्वमै एउटा अनुकरणीय र अनुपम कार्यको थालनी गरेको थियो भने सोही बेला क्रोयडन युनिभर्सिटी हस्पिटलका स्टाफहरुलाई निशुल्क खाना वितरण गर्ने संस्थाहरुमध्येकै अग्रपंक्तिमा आफूलाई उभ्याएको थियो ।

त्यसैगरि, डा. पौडेलले आफ्नो कार्यसमितिले आयोजना गरेको अत्यन्त परोपकारी कार्य रक्तदानको कार्यक्रम व्यवस्थापन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

डा. पौडेलले समाजको अन्य कालखण्डमा भएका प्रभावकारी कार्यहरु जस्तैः क्रोयडन मेलामा सीएनसी यूकेले खेलेको भूमिका तथा नेपालमा दुर्घटनामा परि उपचार गर्न असमर्थहरुलाई विभिन्न च्यारिटी रकम संकलन गरि सहयोग गर्दै आएको पनि स्मरण गरे ।

मन्तव्यका क्रममा डा. पौडेलले नयां वर्षले नयां कार्यसमितिलाई नयां जोश र जांगरसहित संस्थाको गरिमा अझ उच्च तहमा पुरयाउन सफल रहोस् भन्दै कार्यकाल सफलताको शुभकामना पनि दिएका थिए ।

सन् २०११ मा स्थापित सीएनसी यूकेको पांचौं कार्यसमिति अध्यक्ष तथा सम्पूर्ण टिमलाई समाजका संस्थापक अध्यक्ष ध्रुवहरि बास्कोटाले शपथ ग्रहण गराएका थिए भने निवर्तमान अध्यक्ष श्रीमति खपांगी तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रमोद खनालले खादा तथा सर्टिफिकेट प्रदान गरे ।

समाजको नयां कार्यसमिति अध्यक्ष कमला विश्वकर्मा, उपाध्यक्ष उषा बास्कोटा अधिकारी, सचिव जमुना पुन रोका, कोषाध्यक्ष राकेश शाह, सहकोषाध्यक्ष दिवाकर खड्का र सदस्यहरु नरेश खड्का, रेनु कार्की, कविता श्रेष्ठ, शर्मिला खत्री तथा कमल थापाले शपथ खाएका थिए ।

सफलतापूर्वक सम्पन्न उक्त कार्यक्रमको प्रचार प्रसार व्यवस्थापनको सम्पूर्ण जिम्मा सदस्य नरेश खड्काले लिएका थिए भने सदस्य तथा कुशल सेफ कमल थापाले स्वादिष्ट नेपाली भोजन पस्किएका थिए । उनलाई समाजकी सदस्य रेखा शाहले विशेष सहयोग गरेकी थिइन् ।

त्यसैगरि, सीएनसी यूकेका संस्थापक सदस्य तथा समाजका संरक्षक मदन खपांगीले हातेमालो गर्दै सबैलाई अबेरसम्म नचाएर माहोल तताएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू