बिहीबार, वैशाख २०, २०८१
23:54 | ०४:३९

लन्डन फेल्थाममा राष्ट्रिय कलाकारका साथ नेपाली नयां वर्ष मनाइयो

नेपाली लिङ्क अप्रिल १८, २०२४

लन्डन– नेप्लिज अलायन्स एसोसिएसन (एनएए) यूकेले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा लन्डनमा एक शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

गत १३ अप्रिल शनिबार लन्डनस्थित फेल्थाम एसेम्बली हलमा झण्डै ३५० नेपालीको उपस्थितिमा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, सांसद सीमा मलहोत्रा, हन्स्लो काउन्सिल लिडर काउन्सिलर शान्तनु रजावत, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायत अतिथीहरुले नयां वर्षको शुभकामना दिए ।

कार्यक्रममा लन्डन बरो अफ हन्स्लो काउन्सिलरहरु प्रितम ग्रेवाल, अजमेर ग्रेवाल, शिवराज ग्रेवाल, जुन मिय, समिया चौधरीसहित नेपाली समुदायका लिडरहरु सहभागी थिए ।

आयोजकका तर्फबाट अलायन्स ट्रष्टी एवं लन्डन बरो हन्स्लो पूर्व मेयर तथा काउन्सिलर विष्णु गुरुङले सबै सहयोगीप्रति धन्यवाद व्यक्त गरे । उनले नेपाली कला-संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले एसोसिएसन स्थापना गरिएको प्रष्टयाउंदै भविष्यमा पनि यस्ता कार्यक्रम र च्यारिटी कार्यलाई निरन्तरता दिइने बताए ।

अलायन्समा काउन्सिलर विष्णु गुरुङ, सबु सेन्चुरी, हर्क गुरुङ र दिल घले गरि चारजना ट्रष्टी छन् । उनीहरुकै आयोजनामा कार्यक्रम भएको हो ।

दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका कलाकारहरु निर्जला गुरुङ र सविन गुरुङ एवं बेलायतका गायक/डिजे सपन राईले सांगीतिक प्रस्तुति दिएका थिए ।

अलायन्सकी ट्रष्टी सबु सेन्चुरीले ‘फूलको आंखामा फूलै संसार…’ बोलको गीत गाएकी थिइन् भने मन्जु शाहले नेपाली मौलिक गीतमा नृत्य देखाइन् । डिजे सपन राईले अबेरसम्म प्रस्तुत गरेको विभिन्न गीत संगीतमा सहभागीहरु मज्जाले नाचेका थिए । कार्यक्रममा कलाकारहरुलाई प्रमाणपत्र समेत प्रदान गरियो ।

सो अवसरमा अलायन्सले ब्रिटिस सेनामा काम गरेका अवकास प्राप्त सैनिकहरुका लागि ‘एचएम आर्म्ड फोर्सेस भेट्रान कार्ड’ आवेदन फाराम समेत वितरण गरि सहयोग गरेको थियो ।

अलायन्समा काउन्सिलर विष्णु गुरुङ, सबु सेन्चुरी, हर्क गुरुङ र दिल घले गरि चारजना ट्रष्टी छन्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू