मंगलबार, वैशाख १८, २०८१
19:36 | ००:२१

गोर्खाली समाज यूकेमा तीन कार्यकाल उपाध्यक्षपछि अध्यक्षमा दावी गर्दै हेम

नेपाली लिङ्क अप्रिल १५, २०२४


लन्डन-बेलायतको नेपाली समुदायमा चिरपरिचित युवा सामाजिक अभियन्ता हेम गुरुङले गोर्खाली समाज यूकेको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

यही अप्रिल २८ तारिख तय समाजको नवौं अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्षमा उनले आफ्नो आकांक्षा सार्वजनिक गरेका हुन्।

समाजमा लामो समयदेखि क्रियाशिल गुरुङ पछिल्लो तीन कार्यकालमा लगातार उपाध्यक्षको पदमा रहेर काम गरेका थिए । त्यसअघि उनले समाजको युवा संयोजकको समेत जिम्मेवारी सम्हालेका थिए।

गोर्खाली समाज यूकेको अध्यक्ष पदका आकांक्षी गुरुङ सामाजिक कार्यमा सक्रिय अभियन्ता हुन्। एनआरएनए यूकेको पछिल्लो निर्वाचनमा उनी लोकप्रिय मत ल्याएर सहकोषाध्यक्ष पदमा विजयी भएका थिए।

कोभिड महामारीका बेला अल्डरसट, फार्नबरो लगायत क्षेत्रमा घरघरमा पुगेर नेपाली वृद्धवृद्धाहरुलाई औषधि, मास्क र स्यानिटाइजर वितरणमा खटिएर पनि उनले प्रशंसा बटुलेका थिए।

गोर्खाली समाज यूकेको भावी नेतृत्वमा आफ्नो दावेदारी उपयुक्त हुने ठानेर उम्मेदवारी दिन लागेको गुरुङले बताए। तीन कार्यकालसम्म उपाध्यक्ष पदमै बसेर संस्थाको सेवा गरेका उनले आफ्नो संस्थाप्रतिको लगाव र समर्पणलाई देखेर सबैले समर्थन दिने आशा राखेका छन्।

संस्थाको नेतृत्व सम्हाल्न पाए उदाहरणीय काम गरेर संस्थाको प्रतिष्ठा उचो गर्ने प्रतिवद्धता गुरुङले व्यक्त गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू