मंगलबार, वैशाख १८, २०८१
06:26 | ११:११

स्वीटजरल्याण्डका उद्यमीलाई नेपालमा लगानी गर्न आव्हान

रासस अप्रिल ३, २०२४


काठमाडौँ । सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ ।

आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो ।

नेपाल–स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मङ्गलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरेको जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ ।

बैठकमा नेपाल–स्वीटजरल्याण्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचारविमर्श भएको थियो ।

दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्वीटजरल्याण्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको उक्त दूतावासले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलका प्रमुख सहसचिव ढकालले स्वीस सरकारको प्राथमिकतामा नेपाललाई राखिएकामा आभार व्यक्त गरे भने स्वीस सरकारका प्रतिनिधि हेनरिच सेलेनवर्गले नेपालको विकास प्रयासमा स्वीस सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पारस्परिक सहायताका सम्बन्धमा छलफल गर्न सन् २०१५ मा उक्त संयन्त्र स्थापना भएको हो । संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौँमा हुने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू