शनिबार, वैशाख १५, २०८१
09:46 | १४:३१

बेलायत निवासी साहित्यकार बजगाईंले ल्याए ‘युङफ्राउ’ नियात्रासङ्ग्रह

नेपाली लिङ्क मार्च २६, २०२४


लण्डन- साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह युङफ्राउ बजारमा आएको छ । अनुसन्धानमूलक नियात्रामा कलम चलाउने बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको यो पाँचौं नियात्रासङ्ग्रह हो ।

यस अघि बजगाईंका युरोशियाको स्पर्श, भाया साक्रा, दाइबुचु र उमिहोतारु नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् । 

युङफ्राउ नियात्रासङ्ग्रहमा स्विजरल्यान्ड, ग्रीस, बेलायत र पोर्चुगलका २७ वटा यात्रानुभूति समाविष्ट छन् । विदेशका इतिहास, कला, साहित्य र संस्कृति आदिका विषयमा नियात्रा लेख्न मन पराउने बजगाई अलग धारका नियात्राकार हुन् ।

नियात्रा, कथा, लघुकथा, बालकथा र हाइकुका डेढ दर्जन कृति प्रकाशित गरिसकेका बजगाईं डायोस्पोराका स्थापित र सक्रिय साहित्यकार हुन् ।

नेपालमा हुँदा साहित्य सिर्जना, सम्पादन तथा साहित्यिक संघसंस्थामा सक्रिय बजगाई परदेशको भूमिमा पनि विगत २४ वर्षदेखि लेखन, सम्पादन र साहित्यिक सस्थाको नेतृत्वदायी भूमिका छन् ।

उनका एक लघुकथा नेपालको कक्षा १२ मा, एक लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा र चार नियात्रा नेपालका त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रममा पढाइ भइरहेका छन् ।

साहित्यकार कृष्ण बजगाईं

विगत १७ वर्षदेखि बजगाईंले बेलायतबाट साहित्यिक वेव पत्रिका समकालीन साहित्य डट कमको प्रकाशन तथा सम्पादन गरिरहेका छन् । उनी विगत सात वर्षदेखि नियमित प्रकाशित भइरहेको नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’का प्रधान सम्पादक तथा समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष हुन् ।

भुँडीपुराण प्रकाशन काठमाण्डौंबाट प्रकाशित युङफ्राउको मुल्य रु.४९० छ । उक्त पुस्तक नेपालभरका मुख्य पुस्तक पसलहरु र अनलाइनबाट बिक्री भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू