शनिबार, वैशाख १५, २०८१
15:47 | २०:३२

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र इजरायलका राजदूतबीच भेट

रासस मार्च २५, २०२४

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज गृह मन्त्रालयमा भएको भेटवार्तामा राजदूत हनान गोदरले गृहमन्त्री नियुक्त हुनुभएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेको लामिछानेको सचिवालयले जनाएको छ । उनीहरूबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, विपिन जोशीको सुरक्षित नेपाल फिर्तालगायतका विविध विषयमा छलफल भएको थियो ।

जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको बताउँदै राजदूत गोदरले उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारका तर्फबाट राहत स्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए ।

गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे । राजदूतले त्यहाँको अवस्थाको मूल्याङ्कनका आधारमा परिवारको पुनःमिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गरे ।

उनीहरूबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार एवं सुदृढीकरणका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू