शुक्रबार, वैशाख २१, २०८१
18:56 | २३:४१

लन्डन बिस्का जात्रा हेर्न बेलायतवासी सबै नेपालीलाई पासा पुचः गुथिको निम्तो

नेपाली लिङ्क मार्च २३, २०२४


लन्डन- पासा पुचः गुथि यूकेले लन्डन बिस्का जात्रामा सहभागी हुन बेलायतस्थित सिंगो नेपाली समुदायलाई अपील गरेको छ ।

आगामी अप्रिल १३ तारिख शनिबार नेपाली नयाँ वर्षका दिन लन्डन प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा हुने जात्राका लागि आवश्यक तयारीका कामहरु यतिबेला अन्तिम चरणमा पुगेको गुथिले जनाएको छ ।

जात्रा तयारीबारे जानकारी दिन शनिबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्याप्रिकन क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुथिका अध्यक्ष सुशील प्रजापतिले आयोजक नेवा समुदाय रहेपनि जात्रामा बेलायतवासी सम्पूर्ण नेपालीको सहभागिता अपेक्षा गरिएको बताए ।

बिस्का जात्रामा गुथिका बेलायतस्थित सम्पूर्ण शाखाको सक्रिय सहभागिता रहने जनाउँदै उनले विभिन्न शाखामा यतिबेला रथ तथा योसिंद्यो  निर्माणका साथै धिमेबाजा, ढाः बाजा र मौलिक नृत्यहरुको तयारी भइरहेको बताए ।

अध्यक्ष प्रजापतिले जात्रामा सहभागी सबैलाई रथ तान्ने अवसर मिल्ने गरी व्यवस्थापन तयारी गरिएको जनाए । जात्राबाट बेलायतमा रहेको नयाँ पुस्तालाई नेवारी संस्कृति र परम्पराबारे उत्सुक र आकर्षित बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

पत्रकार सम्मेलनमा गुथिका निवर्तमान अध्यक्ष ओजेश सिंहले जात्रालाई बेलायतको नेवार समुदायले आफ्नो परम्परा, संस्कृति र चाडपर्व कसरी मनाउँछन् भनेर देखाउने अवसरका रुपमा सदुपयोग गरिने बताए ।

लन्डन बिस्का जात्रा नेपालकै जस्तो हुन नसकेपनि यसका सकारात्मक पक्षहरुलाई यहाँको परिवेश सुहाउँदो हुने गरी परिमार्जन गर्दै नमुनाका रुपमा प्रस्तुत गरिने उनले बताए ।

जात्रामा रथहरुको निर्माण हिन्दू र बौद्ध दुवै धर्मका विश्वासलाई प्रतिनिधित्व हुने गरी गर्न लागिएको समेत उनले उल्लेख गरे ।


कार्यक्रम संयोजक एवम् गुथिका साउथ इष्ट लन्डन शाखा अध्यक्ष माधवलाल श्रेष्ठले जात्रामा बेलायतस्थित सबै जाति, क्षेत्रका नेपालीलाई सहभागी भइदिन आव्हान गरे ।

उनले जात्राका अवसरमा नेपाली तथा नेवारी खाना प्रवद्र्धनका लागि फुड फेस्टिभल समेत गरिने जानकारी दिंदै हालसम्म पाँचवटा स्टल बुक भइसकेको जानकारी दिए । बालबालिकाहरुको लागि छुट्टै खाना, फेस पेन्टिङ, आइसक्रिम भ्यानलगायत पनि राखिने उनले जनाए ।

अल्डरसट शाखा महासचिव एवम् गुथिका बोर्ड अफ ट्रस्टी सदस्य प्रजेश श्रेष्ठले जात्राको लागि आवश्यक कोष जुटाउन राखिएका विभिन्न स्पोन्सर स्किमहरुबारे बताए । उनले जात्रामा ५० देखि ५ सय पाउण्डसम्म प्रायोजन गरेर आफ्नो व्यवसाय प्रवर्धन गर्न सकिने जानकारी गराए ।

जात्राको अनुमानित खर्च १७ हजार पाउण्ड हाराहारीमा रहेको गुथिले जनाएको छ । जात्रामा १२ सय बढीको सहभागिता अपेक्षा गरिएको छ । जात्राका सहभागीबाट प्रवेश शुल्क पाँच पाउण्ड मात्रै लिइने भएकाले आवश्यक खर्च व्यवस्थापनका लागि प्रायोजन गरी सहयोग गर्न गुथिले आव्हान गरेको छ ।

गुथिका साउथ इष्ट शाखा महासचिव नगेन्द्र श्रेष्ठले जात्रामा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य रहने र विशेष अतिथिका रुपमा नेपालबाट सांस्कृतिक अभियन्ताद्धय सुदन मनिकार र गणपतिलाल श्रेष्ठलाई ल्याउने तयारी भइरहेको जानकारी दिए ।

त्यस्तै, लन्डन ग्रीनवीच बरोका डेपुटी मेयर जीत रानाभाट, स्थानीय काउन्सिलर तथा सांसद, एनआरएनए अभियन्ता, अमेरिकाका विभिन्न १२ राज्यस्थित नेवा संस्थाका अध्यक्षहरु, युरोपका विभिन्न देशमा रहेका एक दर्जन नेवा संस्थाका प्रमुख, बेलायतका विभिन्न तीस बढी नेपाली संस्थाका प्रमुख, पत्रकारहरुलगायतलाई पनि अतिथिका रुपमा निम्तो गरिएको उनले जनाए ।

जात्रामा बेलायतमै पहिलोपटक लाइभ ढाः बाजामा भैरव नृत्य गराइने तयारी छ । पशुपतिनाथ मन्दिर प्लमस्टिडको टीमबाट भजनकिर्तन पनि हुनेछ ।

सो अवसरमा नेवा कला, संसकृति झल्काउने आर्ट एण्ड कल्चरल हेरिटेज फोटो प्रदर्शनी गरिने योजना छ । जसका लागि नेपालबाट समेत चित्रकला तथा तस्विरहरु ल्याइंदैछ ।

जात्रामा करिब ५० जना स्वयमसेवक, तीज जना सेक्युरिटी तथा डाक्टर, नर्ससहितको प्राथमिक उपचार टोली खटाइने जनाइएको छ ।

पत्रकार सम्मेलनमा पासा पुचः गुथि यूके र साउथ इष्ट लन्डन शाखाका पदाधिकारी एवम् सल्लाहकारहरुको उपस्थिति थियो। सो अवसरमा दीपक श्रेष्ठ, सुरोज मास्के, मदन श्रेष्ठ, गायत्री श्रेष्ठ, आहिल्या कुंवरलगायतका गुथिआबद्ध सदस्यहरुले आयोजक कमिटीलाई विभिन्न सुझाव समेत दिएका थिए ।

पत्रकार सम्मेलनको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो पनि पढौं: दोश्रो लन्डन बिस्का जात्रा गर्न जुट्यो नेवा समुदाय, कस्तो तयारी हुंदैछ ? (भिडियो)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू