सोमबार, वैशाख १७, २०८१
16:38 | २१:२३

दोश्रो लन्डन बिस्का जात्रा गर्न जुट्यो नेवा समुदाय, कस्तो तयारी हुंदैछ ? (भिडियो)

नेपाली लिङ्क मार्च १७, २०२४

लन्डन । लिच्छविकालीन बिस्का जात्रा भक्तपुरको एउटा पहिचान मानिन्छ । यसको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक तथा सामाजिक महत्त्व जति छ, त्यति नै रोचक पनि छ बिस्का ।

२७ चैतदेखि शुरु भएर आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्रा जात्राहरूको संगालो पनि हो । सुरुदेखि अन्तिम दिनसम्म हरेक दिन हुने विशेष पूजा र जात्राहरूका कारण बिस्का जात्रा भक्तपुरको विशेष पर्वका रुपमा प्रख्यात छ ।

भक्तपुरको यही जात्राबाट प्रेरित हुँदै लन्डनमा पनि दोश्रो लन्डन बिस्का जात्रा मनाउन तयारी शुरु भएको छ । पासा पुचः गुथि यूकेको आयोजनामा लन्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा आगामी अप्रिल १३ तारिख (बैशाख १) गते जात्रा आयोजना गर्न नेवा समुदाय जुटिसकेको छ ।

जात्राको संयोजन पासा पुचः गुथि यूके साउथ इष्ट लन्डनका अध्यक्ष माधवलाल श्रेष्ठले गर्दैछन् ।

लन्डनमा पहिलोपटक सन् २०२२ मा भएको थियो बिस्का । भक्तपुरमा गरिने बिस्का जात्राकै अनुशरण गरेर यहां पनि दोश्रो पटक जात्रा गर्न लागिएको हो।

‘भक्तपुरकै जस्तो गर्न त सम्भव छैन् । तर हामीले लन्डनमा आफ्नो मौलिकता थपेर जात्रा विशेष बनाउने तयारी गरेका छौं’, पासा पुचः गुथि यूके केन्द्रिय समन्वय समितिका अध्यक्ष सुशील प्रजापतिले नेपालीलिंकसंग बताए ।

प्रजापतिका अनुसार भैरवनाथको रथ १९ फिट र भद्रकालीको १५ फिट अग्लो बनाइनेछ । योसिंद्यो (लिंगो) को उचाईं भने २५ फिट बढी हुनेछ । काठमाडौंस्थित आर्शी एसोसिएट्सका सञ्चालक आर्किटेक्ट सुनिष कुमार लाखेको डिजाइन अनुसार रथ बनाउन शुरु भइसकेको छ ।

पासा पुचः गुथि यूकेका ५ वटा च्याप्टर छन् बेलायतमा । ति सबै शाखा तयारीमा जुटिसकेका छन् ।

पासा पुचः गुथि यूके साउथ इष्ट शाखाले भैरवनाथ रथ, लन्डन शाखाले भद्रकाली रथ, अल्डरसट शाखाले योसिंद्यो बनाउन शुरु गरिसकेका छन् भने रेडिंग र स्कटल्याण्ड शाखाले अतिथी सत्कारको जिम्मा लिएका छन्।

रथका लागि आवश्यक झ्याल ढोका र काष्ठकला सामग्री नेपालमा बनाउने काम भइरहेको छ र ति मार्च अन्तिम सातासम्म बेलायत आइपुग्ने छन् ।

झण्डै १६ देखि २० हजार पाउण्ड खर्च लाग्ने अनुमान गरिएको उक्त जात्रा अवलोकन गर्न नेपालबाट संस्कृतिविदहरु र युरोपबाट समेत विशेष अतिथीहरु आउने जात्रा संयोजक पासा पुचः गुथि यूके साउथ इष्ट लन्डनका अध्यक्ष माधवलाल श्रेष्ठले जनाए ।

यसपटक दर्शक कम्तीमा एक हजार देखि १५ सयसम्म हुने अपेक्षा गरिएको श्रेष्ठले बताए । जात्रा हेर्न टिकट ५ पाउण्डमात्र राखिएको छ । संयोजक श्रेष्ठले यो जात्रा नेवार समुदायले आयोजना गरेपनि समस्त नेपालीहरुलाई कार्यक्रममा सहभागी भएर हौसला प्रदान गर्न अपिल गरे ।

बेलायतवासी नेपाली सबैलाई सहभागिताका लागि अपिल गरेका छन् ।

जात्राको सबै गतिविधि ६*९ मिटर एलइडी स्क्रिनमा देखाइनेछ भने राती अबेरसम्म कार्यक्रम गर्न फ्लोड लाइट्स पनि व्यवस्था गरिनेछ ।

भक्तपुरमा चैत ३१ गते योसिंद्यो उठाएपछि नेपाली नयां वर्ष शुरु भएको मानिन्छ । त्यही बेला भैरवको रथ र भद्रकालीको रथ पनि जुधाएर औपचारिक रुपमा बिस्का जात्रा शुरु हुन्छ ।

भोलिपल्ट बिहानदेखि पूजाआजा, भजन कीर्तिन, बाजागाजाले रमाइलो गरिन्छ । त्यसपछि राती योसिंद्यो ढालिन्छ र रथलाई तलबाट माथितिर लगेर न्यांतापोल मन्दिर रहेको चोकसम्म पुरयाइन्छ ।

तर, लन्डनमा चाहिं योसिंद्यो उठाउने, रथ जुधाउने जस्ता मुख्य गतिविधि एकै दिन गरिने प्रजापतिले बताए ।

रथ जुधाइसकेपछि योमरी, चटामरी, छोयला, मिठाइ, फलफुल जस्ता रथमा चढाइएको प्रसाद जात्रा हेर्न आएका दर्शकहरुलाई बांडिने प्रजापतिले जनाए ।

रथ जुधाएपछि भजन शुरु हुन्छ र राती लाइभ भैरव नृत्य पनि गरिनेछ । यसका लागि ८ वटा बाजा टोलीले सहभागिता जनाउने पक्का भएको छ । प्लमस्टिड पशुपति मन्दिरबाट समेत भजन टोली सहभागी हुनेछ ।

मध्यान्ह १२ देखि राती ९ बजेसम्म चल्ने बिस्का जात्राका अवसरमा फुड फेस्टिबल समेत हुने आयोजकले जनाएका छन् । ७ वटा जति खानाका स्टल रहने अपेक्षा छ । खानामा समे बजी दों प्रमुख आकर्षण हुनेछ । कल्चरल एण्ड हेरिटेज फोटो प्रदर्शनी पनि हुने आयोजकको भनाइ छ ।

‘हाम्रा सन्ततिहरुलाई ऐतिहासिक जात्रा र पर्वबारे जानकारी दिने र विदेशमा भएपनि आफ्नो संस्कृतिमा रमाएर यसलाई संरक्षण गर्ने मुख्य उद्देश्य हाम्रो हो’, प्रजापतिले भने, ‘नेपालकै जस्तो गर्न नसकिएपनि लन्डनमा मौलिक तरिकाले गर्ने सोचेका छौं । हामीलाई सबैको सहयोग र सुझाव खांचो छ ।’

बिस्कालाई लन्डनमा पनि मौलिक जात्राको रुपमा विकास गर्ने र प्रत्येक वर्ष मनाउने सोच बनाइएको प्रजापतिले जनाए । ‘नयां वर्ष मनाउने त छंदैछ, यसबाट नेवा कला संस्कृति, भेषभूषा, खाना संरक्षण र प्रचारप्रसार पनि हुने विश्वास लिएका छौं’, उनले थपे ।

संयोजक माधवलाल श्रेष्ठको यस्तो छ पृष्ठभूमि

पाल्पा ताउं निवासी उनी सन् २००७ मा लन्डन आएपछि सन् २००९ देखि संस्थामा आवद्ध भए । पासा पुचः गुथि यूके साउथ इष्ट लन्डनका अध्यक्ष श्रेष्ठले दोश्रोपटक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।

सन् २०१३ देखि चार वर्ष (दुई कार्यकाल) कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पनि दुई कार्यकाल नै सम्हाल्न पाए । नेपाल प्रहरीमा १६ वर्ष काम गरेका उनी पूर्व इन्सपेक्टर हुन् ।

उनी चाल्टर्न समाज यूके सल्लाहकार, बुद्ध फाउण्डेशन यूके सल्लाहकार, पूर्व नेपाल प्रहरी परिवार मञ्च यूके कोषाध्यक्ष, पाल्पाली भन्ज्याङ यूके सदस्य पनि हुन् ।

को हुन् सुशील प्रजापति ?

पासा पुचः गुथि यूकेका केन्द्रिय अध्यक्ष प्रजापति यसअघि उपाध्यक्ष र महासचिव पनि भए । उनले साउथ इष्ट लन्डन शाखामा दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरे । सन् २००९ देखि सह कोषाध्यक्ष, दुईपटक सांस्कृतिक सचिव, महासचिव र दुई पटक अध्यक्ष भएका थिए उनी ।

भक्तपुर तौलाछें निवासी उनी सन् २००८ मा लन्डन आए । सुशील बेलायतमा नेवा कला संस्कृति, भाषा, भेषभूषा, रहनसहन जस्ता मौलिकता संरक्षणमा दिनरात खटिने व्यक्ति हुन् । उनी लन्डनका सफल व्यवसायी पनि हुन् । रेष्टुरेन्ट र प्रोपर्टीमा उनको लगानी छ ।

एनसीआइ यूके बोर्ड अफ डाइरेक्टर सदस्य, इनास वरिष्ठ उपाध्यक्ष, एनआरएनए यूके सल्लाहकार, डायमण्ड बुद्धिष्ट सेन्टर यूके संस्थापक सहकोषाध्यक्ष र ट्रष्टी लगायत सामाजिक संघसंस्थामा उनको आवद्धता छ ।

लण्डनमा भैरव नाच, ख्या नाच, सापारु (गाई जात्रा) शुरुवात गर्ने ‘क्रेडिट’ उनैलाई जान्छ ।

भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू