शनिबार, कार्तिक १०, २०८१
15:53 | २०:३८

लन्डन आइपुगे प्राचार्य डा. योगी

नेपाली लिङ्क मार्च २२, २०२४

लन्डन । काठमाडौँस्थित शान्ति सेवा आश्रम तथा हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य डा. चिन्तामणि नाथ योगी लन्डन आइपुगेका छन् ।

शुक्रबार बिहान उनी लन्डन हिथ्रो विमानस्थल उत्रिएका हुन् । उनलाई पण्डित निलहरि घिमिरे, समाजसेवी ध्रुव केसी लगायत व्यक्तिले विमानस्थलमा स्वागत गरेका थिए ।

डा. योगी बेलायतमा झण्डै एक महिना रहने कार्यक्रम छ । बेलायत भ्रमणका क्रममा उनले योग, ध्यान र बालबालिकाका लागि प्रशिक्षण शिविर सञ्चालन गर्ने बताइएको छ ।

बालबालिकाका लागि पहिलोपटक इंग्ल्याण्डमा एउटा विशेष ‘क्याम्प’ शुरुवात गर्ने योजना रहेको उनले बताए । इंग्ल्याण्डका विभिन्न कलेज, युनिभर्सिटीमा पनि छलफलहरु गरिने र ति आफ्नोमात्र नभई नेपालको यात्राका रुपमा हेरिदिन उनको अनुरोध छ ।

‘अध्यात्म र मानवताको सन्देश लिएर म संसार घुमिरहेको छु । जुनसुकै देशको मूल्य मान्यता होस् हामीले हाम्रो दर्शनलाई विश्वव्यापी स्तरमा कसरी प्रवर्धन गर्न सक्छौं त्यसमा लाग्न जरुरी छ’, उनले भने ।

डा. योगी नेपालका एक सुपरिचित विद्वान हुन् । उनी नाथ योगी, विचारक, आध्यात्मिक गुरु, शिक्षाविद् र शान्तिका लागि खटिने कार्यकर्ता पनि हुन् । अध्यात्मप्रति दत्तचित्त उनले नेपालमा धेरै संस्थाहरूको नेतृत्व गरेका छन् ।

विश्व ॐकार एकता महाभियान, हिन्दू विद्यापीठ नेपाल, शान्ति सेवा आश्रम, नैमिषारन्य गुरुकुल, गोरक्षनाथ सेवा संघ, बाल शान्ति गृह आदि संस्थाका माध्यमबाट गत ४० वर्षदेखि नेपालमा सेवारत छन् उनी ।

डा. योगीले दाङ, काठमाडौं, काभ्रे, सप्तरीसहित अनेक ठाउँमा बृद्धाश्रम, बालआश्रम, नारी आश्रम, सेवा केन्द्र, दलित केन्द्र आदिका माध्यमबाट नेपाली धर्म संस्कृति, संस्कृतसहित आफ्नो राष्ट्रिय र मानवीय जीवनका कुरा सम्प्रेषण गर्दै आएका छन् ।

गएको झण्डै ३० वर्षदेखि बेलायत, अमेरिका, अस्ट्रेलिया, म्यानमार, थाइल्याड लगायत मुलुकको यात्रा गरेर संसारभरिका नेपालीलाई सांस्कृतिक एकताको सूत्रमा गाँस्न निरन्तर प्रयत्नरत छन् उनी ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू