सोमबार, वैशाख १७, २०८१
09:57 | १४:४२

एनआरएनए यूके अध्यक्ष गाहामगरले भेटे परराष्ट्रमन्त्री

नेपाली लिङ्क मार्च १७, २०२४

लन्डन । हाल नेपालमा रहेका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर वंशजको नेपाली नागरिकता निरन्तरताकालागि ज्ञापन पत्र बुझाएका छन् ।

झण्डै ६ महिनापछि गाहामगर आइतबार उही विषयको ज्ञापनपत्र लिएर मन्त्रीसमक्ष पुगेका हुन् ।

परराष्ट्रमन्त्री श्रेष्ठसंगको भेटमा गाहामगरले बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीच यही मार्च २७ मा लन्डनमा हुन लागेको त्रिपक्षीय वार्तामा नेपाल सरकारका तर्फबाट मन्त्रिस्तरिय सहभागिताका लागिपनि अनुरोध गरेका छन् ।

ज्ञापनपत्रमा गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुलाई सधैंकालागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न माग गरेको छ ।

‘नेपालको संविधान २०७२ को दफा १४ मा नेपाली नागरिक सरह सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न थालिएको स्मरण गराइरहनु परेन’, ज्ञापनपत्रमा भनिएको छ, ‘तर नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेपनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता गरेको छैन । ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मुल मर्मलाई सम्बोधन गरेको छैन ।’

गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन संघले माग गरेको छ ।

ब्रिटिश गोर्खाहरु सन् १९४७ मा नेपालले गरेको सन्धि अनुसार नै बेलायत, सिंगापुर र हङकङमा सेवा गर्न गएको तथ्य स्मरण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै ज्ञापनमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को उपदफा १ ले गोर्खा सैनिक तथा उनीहरुको परिवारको वंशजको नागरिकता खोसेकाले त्यसलाई कायम गर्न माग गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू