सोमबार, वैशाख १७, २०८१
13:21 | १८:०६

बेलायत मिडल्याण्डवासी नेपालीले स्व. पौडेललाई अर्पण गरे श्रद्धाञ्जली

नेपाली लिङ्क मार्च १७, २०२४

लन्डन – नेपाली कांग्रेस महासमिति सदस्य एवं बाग्मती प्रदेशका पूर्व मन्त्री बलराम पौडेलको दुःखद निधनको ४५ दिन पुरा भएको पूण्यतिथिमा शुक्रबार मिडल्याण्डको ग्रान्थममा एक श्रद्धाञ्जली सभा आयोजना गरी उनको सम्झना गरिएको छ।

नेपाली कांग्रेस चितवनका स्वच्छ छविका नेता पौडेलको ४५ दिनको पूण्यतिथिमा बेलायतको मिडल्याण्ड ग्रान्थममा बस्ने स्वर्गीय पौडेलका छोराहरु राजेन्द्र पौडेल र उपेन्द्र पौडेलले राखेको पितृ प्रसाद वितरण कार्यक्रममा मिडल्याण्ड क्षेत्रका सामाजिक व्यक्तित्वहरूको उपस्थित थियो ।

आजभन्दा ठीक एकवर्ष अगाडि बेलायत भ्रमण आएका समाजसेवी स्व. बलराम पौडेल नेपाललाई असाध्यै माया गर्ने सच्चा राष्ट्रभक्त नेता भएको भन्दै सहभागीहरुले उनको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका थिए ।

समाजसेवी केशव भण्डारीले सञ्चालन गरेको शोकसभा कार्यक्रममा मिडल्याण्ड क्षेत्रका सामाजिक अभियन्ताहरू दयानिधि सापकोटा, महेश अधिकारी, रण बहादुर केसी, दीपक सापकोटा, प्रेम आले मगर, राम पन्थी, पवन शर्मा, नारायण आचार्य, कमल भण्डारी, किशोर लामिछाने, गोविन्द खरेल लगायतले स्व. पौडेलप्रति श्रद्धासुमन व्यक्त गरेका थिए ।

आफ्नो परिवारले व्यहोर्नु परेको यस अकल्पनीय क्षतिमा सहानुभूति एवं समवेदना दिने बेलायत एवं नेपालका सम्पूर्ण महानुभावप्रति स्व. पौडेलकी धर्मपत्नी कृष्णकुमारी पौडेल तथा परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

पौडेलको गत माघ १७ गते चितवनमा सवारी दुर्घटनामा परी अकल्पनीय निधन भएको थियो। स्व पौडेलका छोराहरु राजेन्द्र र उपेन्द्र पौडेलले नेपालमा सवारी दुर्घटना न्यून गर्न जनचेतना जगाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने जनाएका छन्।

स्व. पौडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू