शनिबार, वैशाख १५, २०८१
09:30 | १४:१५

गोपीका गीत

डा. कृष्ण उपाध्याय मार्च १७, २०२४

लेखक डा. कृष्ण उपाध्याय

पृष्ठभूमिः

गोपीका गीत श्रीमद्भागवतको दशम स्कन्धको एकतीसौं अध्यायमा छ ।
गोपिका गीतको सम्बन्ध यो भन्दा अगाडीको गोपी स्तुति सँग छ। गोपीहरुको त्यो स्तुति सुनेर, आत्माराम (आफैं सँग सन्तुष्ट) भगवान गोपीहरुको खुशीको निम्ति कृपापूर्वक उनीहरुसँग रासलीला गर्नु हुन्छ। गोपीहरुबीच कृष्ण ताराहरुबीच चन्द्रमा जस्तो देखिनु हुन्थ्यो।

अच्युतको हांसोले उनीहरुका अनुहार प्रफुल्लित देखिन्थे, उनका दात (चम्किला) मल्लिका (जाइ) फुल जस्तो देखिन्थे। गोपीहरु अच्युतको गान गर्थे, अच्युत गीतमै प्रत्युत्तर दिनुहुन्थ्यो, वृन्दावनलाई अझ सुन्दर लाग्थ्यो जब अच्युत वैजयन्तीको मालाको पहिरनमा उनीहरु सँग मिसिनुहुन्थ्यो। चिसो वालुवा र नदीबाट प्रवाहित कमल सुगन्ध सुभाषित यमुनाको तिरमा गएर, गोपीहरु अच्युतका आलिंगनमा थिए।

अङ्ग अङ्गमा गरिएको मृदु स्पर्श, मधुर दृष्टि र परिहास गर्दै आत्माराम रतिपतिले उनीहरुमा रति भाव उत्पन्न गर्नु भयो र लीला गर्दै रम्नु भयो। भगवानसँगको यो रासलीलाका कारण गोपीहरुमा अभिमान आउंछ, उनीहरु आफूलाई सर्वश्रेष्ठ स्त्री ठान्दछन् । उनीहरुको त्यो अभिमान देखेर त्यसबाट मुक्त गर्न, केशव अन्तर्ध्यान हुनु भयो।

अन्तर्ध्यान भएपछि गोपीहरु दुःखी हुन्छन्, विरह पछि कृष्णका लीला, हांसो, हेराई, मधुर वचनहरुको स्मरण गर्छन्। त्यसपछि, उनीहरु कृष्ण लीलाहरुको अभिनय गर्छन्, कृष्णका गान गाउँदै वृन्दावन भरि खोज्छन्, र प्रेमपूर्ण हांसो र दृष्टिले उनीहरुको हृदय चोर्ने कृष्णलाई देखेकी भनेर रुख हरुसँग सोध्छन् । तुलसीलाई सोध्छन्। अरुको हित गर्ने वृक्षहरुलाई सम्बोधन गर्दै भन्छन् तिमीहरु अरुको हित गर्छौ, हेर हामी गोविन्दको वियोगमा छौं-वहुलाही जस्ता भइसक्यौं, कृष्ण कहाँ छन् भनन । हरिणीलाई सोध्छन्, लहराहरुलाई सोध्छन्, थाक्छन्।

फेरी पुतना, वत्सासुर, वकासुर वध र वंशी वजाउदाको कृष्णका लीला अभिनय गर्न थाल्छन्। एक गोपी अर्का माथि चढेर कालिय नाग दमनको अभिनय गर्छन्, त्यसपछि दामोदरलाई माता यसोदाले वाँधेको अभिनय गर्छन्। यतिकैमा नजिकको लहरामा गोविन्दका चरण चिन्ह देख्छन्, पछ्याई रहँदा अरु सखीहरुका पनि चरण चिन्ह देख्छन्।

त्यसपछि भगवानसहित एकजना मात्र सखीको चरण चिन्ह देख्छन्, उनीहरुले ति सखीले मात्र भगवानको कुशलता-विधि पुर्वक पुजन गरेकाले प्रसन्न भएकोले अरुलाई छोडेर उनलाई मात्र यो एकान्त स्थलमा ल्याएको भन्दछन्। यथाः

अनयाराधितो नूनं भगवान् हरिरीश्वर।
यन्नो विहाय गोविन्दः प्रीतो यामनयद् रहः ।। १०ः३०ः२८ ।।

यहाँ शुकदेवजी राधाजीको संकेत गर्नु हुन्छ भन्ने धेरै टिकाकारको भनाइ छ।

त्यसपछि गोपीहरु भगवानका गहिरा चरण चिन्ह देख्छन र आफ्नो प्रियालाई काँडाले खोच्छ भनेर बोकेकाले भारी भएर चरण चिन्ह गहिरा भएको भन्छन्। त्यस पछि ति एक्ली गोपी (राधाजी) को पनि चरण चिन्ह हराउंछ। आफू मात्र भगवानको प्रेम प्रसाद पाउन योग्य भन्ने अभिमान उनलाई पनि हुन्छ, कृष्णलाई बोक्न भन्छिन्, कृष्ण काँधमा बस्न भनेर काँध थाप्नु हुन्छ त्यहि बेला राधाबाट पनि अन्तर्ध्यान हुनुहुन्छ।

उनी पनि विरहमा कता हुनुहुन्छ मेरो प्रिय भन्दै रुन थाल्छिन्। कृष्ण खोज्दै हिंडेका अरु गोपीहरुले उनलाई भेट्छन्। राधाले ती गोपीहरुलाई भन्छिन्ः भगवानले प्रेम–सम्मानले उनलाई विभूषित गर्नु भएको थियो तर उनकै अभिमान उनले सम्मान गुमाइन्। यो सुनेर गोपीहरु अचम्मित भए। गोपीहरुले बुझे, अच्युतलाई अभिमान अप्रिय लाग्छ ।

त्यसपछि सबै मिलेर जहाँसम्म चन्द्रमाको प्रकाश थियो त्यहाँसम्म खोजे, त्यसपछि फर्के, र मन–मस्तिस्कमा कृष्ण राखेर उनका लीलाको चर्चा र अभिनय गर्न थाले। ठूलो ठूलो स्वरमा कृष्ण गाथा गाउन थाले। कृष्ण फर्किने आशामा फेरी यमुना तिरमा आएर ध्यानसहित गाउन थाले। विरह भावमा गाएको यो गोपीगीतलाई गोपीका विरह गीत पनि भनिन्छ।

श्लोक र भावार्थः

गोप्य ऊचुः
जयति तेऽधिकं जन्मना व्रजः
श्रयत इन्दिरा शश्वदत्र हि ।
दयित द‍ृश्यतां दिक्षु तावका–
स्त्वयि धृतासवस्त्वां विचिन्वते ।। १ ।।

गोपीले भनिन्ः
हे प्रिय, हजुरको जय होस् ! हजुरको जन्म भएकोले यो व्रजमा श्रीवृद्धि भएको छ, त्यसैले लक्ष्मी सधैं यहाँ वास गर्छिन्। यहाँ हामी हजुरका दासीहरु चै हजुरका लागि जीवित छौं, त्यसैले हामीलाई दर्शन दिनुहोस्।

शरदुदाशये साधुजातसत्–
सरसिजोदरश्रीमुषा द‍ृशा ।
सुरतनाथ तेऽशुल्कदासिका
वरद निघ्नतो नेह किं वधः ।। २ ।।

हे श्रेष्ठ, वरदानी (वरद) हजुरको हेराइ (दृष्टि) यो शरदको पोखरीमा फुलेको कमलको फुल भन्दा सुन्दर छ। हे सुरतनाथ (प्रेमका इश्वर) यस्तो दृष्टिबाट विमुख गराएर हामी अवैतनिक दासीहरुलाई मार्नु, हत्या सरह होइन ?

विषजलाप्ययाद् व्यालराक्षसाद्
वर्षमारुताद् वैद्युतानलात् ।
वृषमयात्मजाद् विश्वतो भया–
दृषभ ते वयं रक्षिता मुहुः ।। ३ ।।

हे श्रेष्ठ (ऋषभ) ! हजुरले हामीलाई विषयुक्त पानी (कालिय नागकोले विषाक्त बनाएको कालिय दह), डरलाग्दा नरभक्षी राक्षसहरु (अघासुर जस्ता), (इन्द्रले बर्षाएको) भीषण वर्षा, हुण्डरिको रुपमा आएको राक्षस, विजुलीको अग्नि (त्यो पनि इन्द्रकै चट्याङ्ग), गाइको बाछोको रुपमा आएको राक्षस (अरिस्टासुर) आदिवाट जोगाउनु भएको छ।

न खलु गोपीकानन्दनो भवान्
अखिलदेहिनामन्तरात्मद‍ृक् ।
विखनसार्थितो विश्वगुप्तये
सख उदेयिवान् सात्वतां कुले ।। ४ ।।

हे सखा ! हजुर नन्दजीको पुत्र मात्र होइन। हजुर त् सबै प्राणीहरुको वुद्धि (चेत) को साक्षी पनि हो (अखिल देहिनाम अन्तरात्मदृक) (तात्पर्य, त्यसैले हजुरले हाम्रो दुःख जान्नु हुन्छ)। ब्रह्माजीले प्रार्थना गरेको हुनाले संसारको रक्षा गर्न हजुर यदुकुलमा जन्मिनु भएको हो ।

विरचिताभयं वृष्णिधूर्य ते
चरणमीयुषां संसृतेर्भयात् ।
करसरोरुहं कान्त कामदं
शिरसि धेहि नः श्रीकरग्रहम् ।। ५ ।।

हे बृष्णीवंशका श्रेष्ठ! (जन्म मरण रुपी संसार बाट भयभीत भएर शरणमा आउने प्राणीलाई अभयदान दिने, सबैको मनोकामना पूर्ण गर्ने, लक्ष्मीजीको पाणी ग्रहण गर्ने हे कान्त (प्रेमी) हजुरको हात हाम्रो शिरमा राख्नुस।

व्रजजनार्तिहन् वीर योषितां
निजजनस्मयध्वंसनस्मित ।
भज सखे भवत्किङ्करीः स्म नो
जलरुहाननं चारु दर्शय ।। ६ ।।

हे व्रजको दुःख निवारणकर्ता ! हे वीर! हजुरको हांसो भक्तहरुको गर्व (अभिमान ) नष्ट गर्ने खालको छ । हे सखा ! हामीलाई दासीको रुपमा स्वीकार गर्नुस् (शरणागति दिनुस्) र हजुरको कमल जस्तो मुख हामीलाई देखाउनुस् ।

प्रणतदेहिनां पापकर्षणं
तृणचरानुगं श्रीनिकेतनम् ।
फणिफणार्पितं ते पदाम्बुजं
कृणु कुचेषु नः कृन्धि हृच्छयम् ।। ७ ।।

हजुरका शरणमा आउनेहरुको पाप नष्ट गर्ने, चरी रहेका गाईलाई पछ्याउंदै हिड्ने, र श्रीजीको निवास स्थान र कालिय नागको फणा माथि कुद्ने हजुरका चरण कमल हाम्रो वक्षस्थल (हृदय) राखी दिनुस्।

मधुरया गिरा वल्गुवाक्यया
बुधमनोज्ञया पुष्करेक्षण ।
विधिकरीरिमा वीर मुह्यतीर्

अधरसीधुनाप्याययस्व नः ।। ८ ।।
हे कमलनयन (पुस्करेक्षण)! हे वीर! हजुरका मनोहर, अति मधुर, ज्ञानीजनलाई पनि प्रिय लाग्ने, हजुरका वाणीबाट मोहित भएका हजुरका हामी दासीहरुलाई हजुरका अधरामृतबाट जीवित बनाउनुहोस्।

तव कथामृतं तप्तजीवनं
कविभिरीडितं कल्मषापहम् ।
श्रवणमङ्गलं श्रीमदाततं
भुवि गृणन्ति ये भूरिदा जनाः ।। ९ ।।

हजुरको कथा अमृत हो, यसले सन्तप्त प्राणीलाई जीवन दिन्छ, ज्ञानीजनहरुले पनि त्यसको प्रसंसा गर्नु भएको छ। तिनीहरुले सवै पाप हर्छन्) । श्रवण गर्नु मात्र पनि मंगलकारक छ। जसले हजुरको कथामृत गाउछन्, निश्चित रुपले ति पूण्यात्मा हुन्।

प्रहसितं प्रिय प्रेमवीक्षणं
विहरणं च ते ध्यानमङ्गलम् ।
रहसि संविदो या हृदिस्पृशः
कुहक नो मनः क्षोभयन्ति हि ।। १० ।।

हे मायावी ! हे प्रिय! हजुरको हांसो, प्रेमपूर्ण कटाक्ष दृष्टि, विहार र एकान्तमा हुने मनोहर वार्ताको सम्झना हुंदा मन अझ अशान्त हुन्छ।

चलसि यद् व्रजाच्चारयन् पशून्
नलिनसुन्दरं नाथ ते पदम् ।
शिलतृणाङ्कुरैः सीदतीति नः
कलिलतां मनः कान्त गच्छति ।। ११ ।।

हे नाथ! हे कान्त (प्रेमी) ! जब हजुर गाइ चराउंदै व्रजबाट बाहिर जानुहुन्छ, हजुरका कोमल चरण गिट्टी, स-साना ढुंगा, झारपात र काँडाले दुखाउलान् भन्ने सोचेर हाम्रो हृदय व्यथित हुन्छ।

दिनपरिक्षये नीलकुन्तलै–
र्वनरुहाननं बिभ्रदावृतम् ।
घनरजस्वलं दर्शयन् मुहु–
र्मनसि नः स्मरं वीर यच्छसि ।। १२ ।।

हे वीर! वेलुकी पख वट्टारिएका केशाले छोपिएर र पराग र धुलोले ढाकिएका कमल जस्तो हजुरको मुखारविन्द हामीलाई वारम्वार हामीलाई देखाउनु हुन्छ र हामीलाई हाम्रो मनमा भेट्ने इच्छा हुन्छ ।

प्रणतकामदं पद्मजार्चितं
धरणिमण्डनं ध्येयमापदि ।
चरणपङ्कजं शन्तमं च ते
रमण नः स्तनेष्वर्पयाधिहन् ।। १३ ।।

हे रमण (प्रेमी), हे अधिहन (मानसिक चिन्ता हटाउने हजुर), ब्रह्माजीबाट पुजित, पृथ्वीको भुषण, (ध्यान मात्रैबाट पनि) आसक्तिबाट जोगाउने र सेवागर्दा आनन्द आउने हजुरका चरण कमल हाम्रो वक्षस्थल (हृदय) मा राख्नुस्।

सुरतवर्धनं शोकनाशनं
स्वरितवेणुना सुष्ठु चुम्बितम् ।
इतररागविस्मारणं नृणां
वितर वीर नस्तेऽधरामृतम् ।। १४ ।।

हे वीर ! हामीलाई अधरामृत दिनुस, जुन सुरतबर्धन छ (अर्थात, जसको प्राप्ति पछि अधिक इच्छा जागृत हुन्छ), जसले शोकको नाश गर्दछ, जसको स्वाद वजाउदै गरेको वाँसुरीले लिई रहेको छ, र जसले मानिसलाई अरु प्रकारका सुख प्राप्त गर्ने भावलाई बिर्साउंछ।

अटति यद् भवानह्नि काननं
त्रुटि युगायते त्वामपश्यताम् ।
कुटिलकुन्तलं श्रीमुखं च ते
जड उदीक्षतां पक्ष्मकृद् दृशाम् ।। १५ ।।

बिहान जब हजुर वन जानु हुन्छ, हजुरलाई पलभर नदेख्दा पनि युग बिते जस्तो लाग्छ। बेलुका फर्कंदा, हजुरका बट्टारिएका केशबाट शोभायमान हजुरको मुख हेर्दा हामीलाई लाग्छ आंखाका परेली बनाउने (ब्रह्माजी) सृष्टिकर्ता हृदयशून्य हुन् (किनभने त्यो परेला झिम्क्याउंदा नै दर्शन सुखबाट वन्चित हुन्छौँ) ।

पतिसुतान्वयभ्रातृबान्धवा–
नतिविलङ्घ्य तेऽन्त्यच्युतागताः ।
गतिविदस्तवोद्गीतमोहिताः
कितव योषितः कस्त्यजेन्निशि ।। १६ ।।

हे अच्युत हजुर जान्नु हुन्छ, हामी हजुरको वाँसुरीको मोहक गीत सुनेर हाम्रा पति, पुत्र, दाजु–भाई, वन्धु–वान्धव छोडेर हजुरकोमा आएका हौ। हे कितव (मायावी, झुक्याउने, ठग, कपटी) ! कसले यसरी रातिमासा आएका स्त्रीहरुको परित्याग गर्छ(आसय–हजुर बाहेक)

रहसि संविदं हृच्छयोदयं
प्रहसिताननं प्रेमवीक्षणम् ।
बृहदुरः श्रियो वीक्ष्य धाम ते
मुहुरतिस्पृहा मुह्यते मनः ।। १७ ।।

एकान्तमा भएका वार्ता, हाँसोयुक्त मुखमंडल, प्रेमपूर्ण दृष्टि, र लक्ष्मीजीको वासस्थान त्यो ठूलो चौडा छाती देखेर हाम्रो मन मोहित हुन्छ, त्यसैले सामिप्यताको इच्छा राख्छौं।

व्रजवनौकसां व्यक्तिरङ्ग ते
वृजिनहन्त्र्यलं विश्वमङ्गलम् ।
त्यज मनाक् च नस्त्वत्स्पृहात्मनां
स्वजनहृद्रुजां यन्निषूदनम् ।। १८ ।।

हे अङ्ग-हे प्रभो, हजुरको स्वरुपले व्रज (वन) वासीहरुको व्यथाको निवारण गर्छ। हाम्रो मन हजुरको दर्शनका लागि व्यथित (आतुर) छ। हामीलाई त्यो औषधि (दर्शन) दिएर हाम्रो हृदयको व्यथा साम्य पार्दिनुस्।

यत्ते सुजातचरणाम्बुरुहं स्तनेषु
भीताः शनैः प्रिय दधीमहि कर्कशेषु ।
तेनाटवीमटसि तद् व्यथते न किंस्वित्
कूर्पादिभिर्भ्रमति धीर्भवदायुषां नः ।। १९ ।।

हे प्रिय! हजुरका चरणकमल यति कोमल छन्, त्यसैले हामि ति (युगल) चरण हारो वक्षस्थल (हृदयमा) राख्छौं, (किनभने) जंगलका वाटामा हिंड्दा रोडा–गिट्टीले आघात नदिऊँन्। त्यसैले हामीलाई त्यस्तो डर भइरहेको छ।

संक्षिप्त व्याख्याः
भक्त-भागवतहरुबीच यो गीत धेरै प्रचलित छ, संगीतमय यो गीत धेरै भक्तलाई मुखस्त पनि छ। सम्भवतः श्रीमद्भागवतको सबैभन्दा धेरै गाइएको र चर्चा गरिएको स्तुति हो गोपीका गीत । अहिलेसम्मका भागवतका परम विद्वान वाचक मानिने श्रीधर स्वामीले त गोपीका गीतको चौमासिक अनुष्ठानमै यसको व्याख्या गर्नु भएको थियो। वहाँका अद्वैत परक भागवत व्याख्यान द्वैत, विशिष्ट अद्वैत आदि सैधान्तिक आलोकमा गरिएका व्याख्यान भन्दा केहि फरक भए पनि विद्वानहरु बीच वहाँका रसमयी प्रस्तुति सिंगो आध्यात्मिक जगतलाई आल्हादित तुल्याउने खालका छन्।

गोपीहरुका सरल भक्तिका भावमयी भक्तिमा रसनै यस्तो प्रगाढ छ, यसले महामनिषीहरुलाई आ–आफ्ना सैधान्तिक आलोकबाट विवेचना गर्ने र विभिन्न कोणबाट हेर्ने अवसर दिएको छ।

यहाँ मात्र गोपीहरुको यो स्तुतिमा भएको भाव र शास्त्रीय पक्षलाई केलाइने प्रयन्त गरिएको छ।

’जयति ते’ (हजुरको जय होस्) भन्दै प्रारम्भमा नै गोपीहरु भगवानको मंगलाचरण गर्छन्। कृष्णको जन्म ब्रजभएकाले, यसको श्रीवृद्धि भएको छ किनभने भगवान सगैं भगवानको हृदयमै रहने लक्ष्मीको पनि यहीं वास हुन् थालेको छ। उनीहरु श्री अथवा लक्ष्मी सँगको कृष्णको सम्बन्ध देखाउदै श्रीकृष्णको भगवत्ताको निरुपण गर्छन, लक्ष्मीपति नारायणको रुपमा, परम तत्वको रुपमा। अन्तर्ध्यान हुनु भएको भगवानलाई दर्शन दिन आग्रह गर्ने गोपीहरु दाश्य भावमा प्रार्थना गर्दै, आफूहरुलाई ‘अशुल्क दासी’ भन्छन्, जसको आशय उनीहरु शरणागत छन् भन्ने हुन्छ।

उनीहरुको विछोडको विरह यति प्रगाढ छ कि, उनीहरु आफूहरुको प्राण नरहने सम्मको भाव राख्द्छन्, किन भने गोपीहरुको सर्वस्व नै कृष्ण हुन्। उनीहरुको हृदयमा सदा कृष्ण छन्, उनीहरुको चिन्तन नै कृष्ण हुन्। तर जसका हृदयमा परमात्मा रहन्छन्, उसको दुर्गति कसरी हुन्छ? गरुड पुराणमा भनिएको छः

लाभस्तेषाम जयस्तेषाम कुतस्तेषाम पराजयः ।
येषा मिंदीवरश्यामो ह्रदयस्थो जनार्दनः ।। (गरुड पुराण, १ः२२२ः१३ )
(जसको हृदयमा इन्दिवर श्याम विराजमान हुनुहुन्छ उसलाई लाभ हुन्छ, जय हुन्छ, पराजय हुंदैन।)

त्यसैले पराजित किन हुन्थे गोपीहरु? उनीहरु स्तुति गरिरहन्छन्, श्याम सुन्दरको कमलको जस्तो सुन्दर अनुहारको वर्णन गर्दै। भगवानका गुणको वर्णन गर्दै उनीहरु भनि रहन्छन्, भगवानले विषयुक्त जलबाट जोगाउनु भएको छ, राक्षसहरुबाट जोगाउनु भएको छ, इन्द्रको कोपबाट जोगाउनु भएको छ भने अहिले यस्तो विषादको बेलामा चाहिं किन नजोगाउने? यो आग्रह हराएका कृष्णको फेरी दर्शनको आशाले गरिएको तर्क हो। यति मात्र किन हुन्थ्यो! उनीहरुको तर्क छ, ब्रजको दुःख निवारण गर्न अवतरित हुनु भएको छ भने, उनीहरुको यो विषादको अन्त चै किन नगर्ने ? अर्थात, किन फेरी दर्शन नदिने? हजुर सबै प्राणीहरुको साक्षी पनि हो (अखिल देहिनाम अन्तरात्मदृक) भन्दै गर्दा उनीहरुको आशय छ, हाम्रो पीडा चाहिं किन नदेखेको त, त्यसैले विलुप्त हुन छोडेर दर्शन दिनुस्। हजुरको हासों भक्त हरुको गर्व (अभिमान) नष्ट गर्ने खालको छ भन्दै अब हाम्रो घमण्ड गइ सक्यो, अब त निस्किनुस् न भन्ने भाव प्रकट गर्छन्। हजुरका कोमल चरण हाम्रो हृदयमा होस्, हजुरको अधरामृत प्राप्त होस् भन्छन्, भगवानका कथाले पाप नष्ट हुने अर्थात काम्य भाव अन्त हुने भन्छन्। त्यसो भए दर्शन किन चाहियो त गोपीहरुलाई ?

उनीहरु भन्छन् भगवानको मधुर हाँसो, ऐकन्तिक वार्ता, कटाक्ष सम्झिन्दा मन अशान्त हुन्छ। त्यसैले दर्शन नै दिनु परयो भन्ने भाव ब्यक्त गर्छन्। यति तर्कले नपुगेर दर्शनको निम्ति प्रताडित गोपीहरुको स्तुतिमा (आफूहरु आद्रचित्त भै रहंदा पनि ‘हजुर चै किन यस्तो?’ भन्ने भावमा भन्छन्) हजुरका कोमल चरण गिट्टी, ससाना ढुंगा, झारपात र काँडाले दुखाउलान् भन्ने सोचेर हाम्रो हृदय व्यथित हुन्छ, बट्टारिएका केशाले छोपिएर र पराग र धुलोले ढाकिएका कमल जस्तो हजुरको मुखारविन्द हामीलाई वारम्वार हामीलाई देखाउनु हुन्छ र भेटौं भेटौं, देखौं देखौं लाग्ने बनाउनु हुन्छ, त्यसैले हे अधिहन (मानसिक चिन्ता हटाउने हजुर!) हजुरका ति कोमल चरण हाम्रो हृदयमा राखेर हामीलाई शान्त बनाउनुहोस्। त्यसैले हामीलाई दर्शन दिनुस्, निमेष भर नदेख्दा पनि हामीले युगौं नदेखेको जस्तो अनुभव हुन्छ। दर्शन दिनुस् किनभने हामीले सबै थोक बिर्सेर बांसुरीको धुन पछ्याउदै आएका हौँ। यस्ता भावले स्तुति गर्दा गर्दै भगवान पुनः प्रकट हुनुहुन्छ। गोपीहरु जित्छन्। गोपीहरुको पराभव हुदैन। भक्त हरुको पराभव असम्भव छ। भगवान स्वयम् भन्नुहुन्छः

अहं भक्तपराधीनो ह्यस्वतन्त्र इव द्विज ।
साधुभिर्ग्रस्तहृदयो भक्तैर्भक्तजनप्रियः ।। (श्रीमद्भागवत, ९ः४ः६३ )

अर्थात, म भक्त हरुको अधिनमा छु। म पूर्ण स्वतन्त्र छैन्, म आशक्तिबाट मुक्त भक्तका हृदयमा वास गर्दछु, र भक्तहरुका भक्त पनि मेरा प्रिय हुन्।

भागवतमै भगवान भन्नु हुन्छः मलाई (म भित्रको संसारलाई) पवित्र पार्न म नित्य (भक्तहरुका) चरणकमलका रज पछ्याई रहन्छु । यथाः
अनुव्रजाम्यहं नित्यं पूयेयेत्यङ्घ्रिरेणुभिः ।।श्रीमद्भागवत ११ः१४ः १६ ।।

फेरी दोहोरयाउनु उपयुक्त हुन्छ, यो स्तुति र रासलीलाको बेला भगवान कृष्णको उमेर सात वर्षको मात्र छ, र भगवान सङ्गको उनीहरुको भक्ति प्रेमलक्षणा भक्ति भए पनि त्यो प्राकृत प्रेम होइन। उनीहरुले गरेको भगवानको स्तुतिबाट प्रष्ट हुन्छ। तर अतिरेक स्नेहको कारणले उनीहरुले कहिले ‘सखा’ को रुपमा सम्बोधन गर्छन्, कहिले ’कान्त; (माया, प्रेमी), कहिले ‘कुहक’ (मायावी) आदि शब्दले सम्बोधन गर्छन्। के भगवानलाई यस्तो अग्राह्य छ ? भागवतमै प्रमाण छः काम, क्रोध, भय, स्नेह, सौहृद जुन भावले हरिलाइ नित्य सम्झे पनि हरि प्राप्त हुन्छ वा प्राप्त गर्छ, यथाः

कामं क्रोधं भयं स्नेहमैक्यं सौहृदमेव च ।
नित्यं हरौ विदधतो यान्ति तन्मयतां हि ते ।। १०ः२९ः १५ ।।

यहि स्तुतिमै हामी देख्छौँ, गोपीहरु भगवानको कथा श्रवणको महत्व वर्णन गर्छन्, भगवानको लीला कथाको वर्णन गर्छन्, भगवानको चरण सेवनको निम्ति प्रार्थना गर्छन्, दास्य भाव प्रकट गर्छन्, सखा भाव प्रकट गर्छन्, सबै छोडेर भगवानमा आत्म–निवेदन गर्छन्। अर्थात्, प्रह्लाद्जीले भने जस्तै नवदा भक्तिका साधन प्रेमभावमा प्रयुक्त भएका छन्। यथाः

श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम्।
अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम् ।। (श्रीमदभागवत, ७ः५ः२३ )
म हजुरको हुँ, हजुर मेरो हो भन्ने भाव छ उनीहरुमा। यो भगवानलाई असाध्य मधुर लाग्ने भाव हो। वाल्मिकी रामायणमा भगवान त्यही बताउनु हुन्छ विभिषण शरणागत हुन् आउँदाः

सकृदेव प्रपन्नाय तवास्मीति च याचते ।
अभयं सर्वभूतेभ्यो ददाम्येतद् व्रतं मम ।। (वाल्मीकि रामायण, ६ः१८ः३३ )

(जसले एक पटक आएर ‘म हजुरको भए’ भनेर याचना गर्छ, उसलाई म संसारका सबै प्राणीहरुबाट अभय प्रदान गर्छु– यो मेरो व्रत हो)।

गोपीहरु त्यै त गरिरहेका छन्। त्यसैले गोपीहरु पुर्णरुपेण शरणागत भक्त हुन्। भगवान उनीहरुको निमित्त माता–पिता हुन् (उनीहरु सबै छोडेर आएका छन), सम्वन्धी पनि हुन् (वन्धु–वान्धवी पनि छोडेर आएका छन्), उनीहरुको विद्या पनि कृष्ण नै हुन् (उनीको ज्ञान ब्रह्म ज्ञान हो), धन–सम्पति पनि कृष्णनै हुन् (सवै घरबार नै छोडेर आए), कृष्ण नै उनीहरुका सर्वस्व हुन्। कृष्णप्रतिको उनीहरुको भाव होः

त्वमेव माता च पिता त्वमेव,
त्वमेव बन्धुश्च सखा त्वमेव।
त्वमेव विद्या च द्रविणम त्वमेव,
त्वमेव सर्वमम देव देवः।।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू