१३ औं ग्रीनवीचकप ३० मे शनिबार, यसपटक टीम र पुरस्कार दुवै बढाइयो


फाइल तस्विर-गत वर्षको ग्रीनवीचकप विजेता दाजुभाइ एफसी।
लन्डन- बेलायतमा हरेक वर्ष आयोजना हुंदै आएको ग्रीनवीचकप फुटबलको १३ औं संस्करण यही मे ३० तारिख शनिबार हुंदैछ।
नेपाली युथ एशोसिएसनको आयोजनामा साउथ इष्ट लन्डनको चार्ल्टनस्थित ‘मेरिडियन स्पोर्टस् एन्ड सोसल क्लब’ को मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ।
आयोजक एशोसिएसनका अध्यक्ष लछुमन गुरुङका अनुसार यस वर्षको प्रतियोगितामा सहभागी टीम संख्या र पुरस्कार राशी दुवै बढाइएको छ । मुख्य विधामा २० र भेटेरान विधामा १० टीमबीच प्रतिस्पर्धा गराइंदैछ।
मुख्य विधातर्फ विजेतालाई २ हजार पाउण्ड र उपविजेतालाई ८ सय पाउण्डको नगदसहितको पुरस्कार दिइनेछ । भेटेरानमा भने विजेता र उपविजेतालाई क्रमशः १ हजार पाउण्ड र ४ सय पाउण्ड नगदसहितको पुरस्कार छ।
दुवै विधामा सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ।प्रतियोगितामा सामेल हुने दुवै विधाका टीमलाई २ सय ५० पाउण्डको प्रवेश शुल्क राखिएको छ।
फुटबल, समुदाय र मित्रताको भावनालाई प्रवर्द्धन गर्नु ग्रीनवीचकपको प्रमुख लक्ष्य रहेको एशोएिसनका अध्यक्ष गुरुङ बताउँछन्।
विगतका केही वर्ष महोत्सवकै रुपमा आयोजना गरिंदै आएको कार्यक्रम यसपटक भने फुटबलमै केन्द्रित गरिएको छ। प्रतियोगितास्थलमा नेपाली खाना र केही सांगीतिक मनोरञ्जनका प्रस्तुति भने रहनेछन्।
आयोजकले ग्रीनवीचकपमा बेलायतवासी सबै नेपालीहरुलाई आमन्त्रण गरेका छन्।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


