शनिबार, २३ मे, २०२६
11:05 | १५:५०

बहुप्रतिक्षित गोर्खा कप तयारी अन्तिम चरणमा, मैदानमा तमुधिं यूके टिम (तस्विरहरु)

नेपाली लिङ्क मे २३, २०२६


लन्डन । भोलि २४ मे आइतबार हुने नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण सफल बनाउन अन्तिम तयारीस्वरुप तमुधिं यूके पदाधिकारी मैदानमा जुटेका छन् ।

खेलस्थल अल्डरसटस्थित क्वीन्स एभिन्यू आर्मी मैदानमा अहिले तमुधिं यूके कार्यसमिति, ट्रष्टी, सल्लाहकारहरु र अन्य स्वयंसेवक गरि झण्डै १५० जना व्यस्त देखिन्छन् ।

सो अवसरमा गोर्खाकप संयोजक क्या दीपक घलेले तयारीका अन्तिम कार्यबारे ब्रिफिङ गरेका थिए।

हिजो शुक्रबार मेन पिच, भिआइपी टेन्ट र बालबालिकाको खेल (फन फेयर) व्यवस्थापन भइसकेको र आज बांकी काम धमाधम भइरहेको गोर्खा कप आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले जनाए ।

तमुधिं यूके यस्तो ठूलो र उदाहरणीय संस्था छ जसका सदस्यहरु र परिवार नै लामो समयदेखि श्रमदान गर्न अग्रसर हुन्छन् ।

कार्यक्रममा प्रमुख अतिथी स्थानीय मेयर, विशेष अतिथी कार्यवाहक राजदूत विपिन दुवाडीसहित झण्डै २० हजार दर्शक सहभागी हुने अपेक्षा छ ।

गोर्खा कपमा स्कटल्याण्डमा अण्डर १५ खेलिरहेकी नेपालीमूलकी खेलाडी मेलिसा रेग्मी विशेष आकर्षण हुनेछिन् ।

खाना, च्यारिटी, आइसक्रिम, केक, बबल टी, लत्ताकपडा आदि गरि १२६ स्टल रहने तमुधिं यूकेले जनाएको छ । अल्कोहल पिउन, ड्रोन उडाउन र हतियार विक्री वितरण वा बोक्न भने प्रतिवन्ध छ ।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कप सबै समुदायको साझा इभेन्ट भएको बताउंदै सहभागी भएर रमाइलो गर्न अपिल गरेका छन् ।

५६ टिमले प्रतिष्पर्धा गर्दै

गोर्खा कप संयोजक एवं स्पोर्टस् सेक्रेटरी क्याप्टेन दीपक घलेका अनुसार यसपटकको संस्करणमा टिम सहभागिता बढाएर ३८ मेन, भेट्रान १६ र महिला २ गरि ५६ टिमले प्रतिष्पर्धा गर्दैछन् ।

पुरस्कार राशी पनि बढेको छ । मेन वीनरलाई ३ हजार ५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, रनर अपले २००० पाउण्ड, भेट्रान वीनरले १८०० पाउण्ड एवं रनरअपलाई १८०० पाउण्ड साथै महिला टिम वीनरले ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाउने उनले बताए । ‘लिजेन्ड अफ द गोर्खा कप’ उपाधि पनि दिइने छ ।

गत वर्षको इभेन्टमा भएका कमी कमजोरीहरु सुधार गरि यसपटक झन् विशेष बनाउने आयोजकको प्रतिवद्धता छ ।

बिहान ९ बजेबाट खेल शुरु भएर राती ८ बजे समापन गरिसक्ने तमुधिं यूकेको योजना छ । इभेन्ट हेर्न प्रवेश शुल्क ५ पाउण्ड तथा कार, मिनीबस पार्किङ १० एवं कोच पार्किङ शुल्क १५ पाउण्ड तोकिएको छ ।

तस्विरहरु- मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू